सान्जेन र रसुवागढीको आइपीओ बाँडफाँड आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सान्जेन र रसुवागढीको आइपीओ बाँडफाँड आज



काठमाडाै । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओ बिहीबार(आज) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार ऊर्जा मन्त्रालयको सभा हलमा बिहीबार दिउँसो ३ बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ । आइपीओ बाँडफाँड कार्यक्रममा ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन सहभागी हुने बताइएको छ ।

सान्जेन र रसुवागढी हाइड्रोपावरलाई पनि जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएकाले ऊर्जा मन्त्री पुनको प्रमुख आतिथ्यमा सेयर बाँडफाँड गर्न लागिएको हो । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी गराएको छ ।

सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको हो । यसमध्ये ४ प्रतिशत (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत  (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरलाई सर्वसाधारणलाई बिक्री गरिएको हो । यसमा माग भन्दा २.८३ गुणा बढी आवेदन परेको छ ।

यता, रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा भने १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ३ लाख २ हजार ५३२ जनाले १ अर्ब ७१ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर भरेका हुन् । रसुवागढी हाइड्रोपावरमा पनि माग भन्दा १.८३ गुणा बढी आवेदन परेको छ ।

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ४ प्रतिशत (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यी दुवै कम्पनीको आइपीओमा सबै आवेदकले सेयर पाउने बताइएको छ ।

प्रकाशित : १९ बैशाख २०७६, बिहीबार ०९:०८