अर्थमन्त्रीले भने -‘निजी क्षेत्रलाई उत्साहित गर्न राज्यले लगानी गर्नु पर्दो रै छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्रीले भने -‘निजी क्षेत्रलाई उत्साहित गर्न राज्यले लगानी गर्नु पर्दो रै छ’



काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७मा अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको सरकारले छोटो समयमै सम्पन्न गर्न सकिने योजनालाई बजेटमा प्राथमिकता दिने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताए । आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले अधुरा योजनालाई सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिने बताए । ‘अधुरा योजनाहरु छिटो सकिने गरी बजेटले प्राथमिकता पाउने छ,’ उनले भने, ‘यसको अर्थ दीर्घकालीन योजनलाई प्राथमिकता नदिइने भन्ने होइन । दीर्घकालीन योजनालाई समेत सँगै लिएर जान्छौं ।’

त्यस्तै उनले निजी क्षेत्र उत्साहित हुनेगरी बजेट ल्याइने समेत बताए । ‘निजी क्षेत्रलाई उत्साहित गर्न राज्यले लगानी गर्नु पर्दो रै’छ,’ उनले भने । आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित हुने कार्यक्रमहरूका लागि स्पष्ट मापदण्ड बनाएर अघि बढ्ने मन्त्री खतिवडाको भनाइ थियो ।

बजेटको आकारका विषयमा सांसदहरूले राखेको जिज्ञासामा मन्त्री खतिवडाले विकासको आकांक्षा र उपलब्ध स्रोत साधनको आधारमा बजेट छुट्ट्याइने उल्लेख गरे ।

प्रकाशित : ३१ बैशाख २०७६, मंगलवार १४:०६