‘शेयर खरिदबिक्री निर्देशन कानुनसम्मत’ः मन्त्री यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

‘शेयर खरिदबिक्री निर्देशन कानुनसम्मत’ः मन्त्री यादव



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शेयर खरिदबिक्री सम्बन्धी आफूले दिएको निर्देशन कानुनसम्मत भएको बताउनु भएको छ ।

मन्त्री यादवले शनिबार नेपाल एडिटर्स एशोसिएशन उपत्यका समितिको पाँचौ अधिवेशन उद्घाटन गर्दै आफूले कानुन अनुसार नै निर्देशन दिएको तर त्यसमा कर्मचारीले अनावश्यक बखेडा निकालेको दाबी गर्नुभयो ।

‘मैले नियमावली हेरेरै निर्देशन पठाएको हो’ उहाँले भन्नुभयो, ‘तर त्यसमा सचिव र केही कर्मचारीले निर्देशन कानुन विपरीत भयो भनेर अनावश्यक बखेडा गर्नुभयो । त्यही कुरालाई मिडियाले अनर्गल प्रचार गरे ।’मन्त्री यादवले गएको असार २७ गते शेयरको अभिलेख अदालत र राजदूतावासमा पनि राख्न सचिवालयमार्फत कम्पनी रजिस्ट्रार कार्यालयलाई लिखित निर्देशन दिनुभएको थियो ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडासहित केही कर्मचारीले भने मन्त्रीले कानुनविपरित निर्देशन दिएको बताउँदै आएका छन् । मन्त्री यादवले कम्पनी रजिस्ट्रार कार्यालयमा गलत कार्य भइरहेको टिप्पणी गर्नुभयो ।

‘कालोकोट लगाएकाहरुले पनि मनोमानी गरिहेका छन्’ उहाँले भन्नुभयो, ‘कामको अख्तियारीको लागि कम्पनी संचालकलाई सहीछाप गरायो, अनि एउटाको कम्पनी अर्कैको नाममा गरिदियो । कम्पनीको मालिक फेरिएको समेत थाहा पत्तो हुँदैन । एभरेष्ट होटलको मालिक फेरिए जस्तै ।’

अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय कार्य समिति चयनको लागि भएको एडिटर्स एशोसिएशनको पाँचौं अधिवेशनमा करिब २ सय प्रतिनिधि सहभागी छन् ।

प्रकाशित : ६ जेष्ठ २०७६, सोमबार ०७:१८