इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँबराबरको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८२’ ऋणपत्र निष्कासन गर्ने भएको छ । २४ जेठदेखि निष्कासन गर्न लागेको ऋणपत्रमा प्रत्येक ६ महिनामा भुक्तानी गर्ने गरी १०.५० प्रतिशतका दरले ब्याज प्रदान गर्ने बैंकले जानकारी दिएको छ । ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँका दरले खरिद गर्न सकिनेछ ।

बैंकले निष्कासन गर्न लागेको २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सात वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।

ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ । सो ऋणपत्रलाई इन्भेष्टमेन्ट बैंकबाहेक अन्य बैंकमा कर्जा सुरक्षण तथा थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको बैंकको भनाई छ ।

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पुँजीका रुपमा ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले यसअघि पनि ७५ करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०७८’ र ५० करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०७७’ लगायत अन्य निष्कासनहरु पनि गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित : २२ जेष्ठ २०७६, बुधबार ०९:४८