अब वालेटको झन्झट नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अब वालेटको झन्झट नहुने



काठमाडौं । अरुभन्दा फरक खालको भुक्तानी सेवा प्रदायक ‘सेलपे’ मंगलबारदेखि औपचारिक सञ्चालनमा आएको छ । सेलकम प्रालिले सञ्चालनमा ल्याएको यो सेवाको नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले उद्घाटन गरे । अरु भुक्तानी सेवामा जस्तो वालेट सिस्टम नभई वास्तविक समय (रियल टाइम)मा मोवाइल तथा वेभ एप्लिकेशनबाट रकम भुक्तानी हुने भएकाले यो फरक रुपमा बजारमा आएको हो ।

सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएसँगै यस्ता भुक्तानी सेवा प्रदायकहरुको संख्या थपिएको छ । सेलकमले सेलपेबाट कारोबार गर्दा सुरक्षाको सुनिश्चितता गरिएको भन्दै आफूहरुले अहिलेसम्म १४ वटा बैंकसँग टाइअप (सहकार्य) गरेको र बाँकीसँग पनि चाँडै क्रमस गर्ने जनाएको छ । सेलपेको ब्राण्ड एम्बासडरको रुपमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य छन् ।

वालेटविना सोझै रकम भुक्तानी हुँदा रकम दिने र लिनेलाई झन्झट नहुने, समयको बचत हुने, रकम बैंकका खातामा बस्ने हुँदा ब्याज पनि प्राप्त हुनेछ । कार्यक्रममा गर्भनर नेपालले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुसार सेलपेलाई पनि अनुमति दिइएको बताउँदै यस्तो कारोबारमा अझै पनि थोरै मानिस आवद्ध रहेकाले यसलाई बढाउन आवश्यक संख्यामा भुक्तानी सेवा प्रदायकलाई लाइसेन्स दिने बताए ।

उनले सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायकको कारोबार कति सुरक्षित छ ? भन्ने बारे राष्ट्र बैंकले अनुगमन गरिरहेको भन्दै यस्ता सेवा प्रदायकले लिने शुल्कका बारेमा पनि अध्ययन गरिने बताए । कम्पनीका अध्यक्ष दीपक मलहोत्राले सेलपे अत्यन्त द्रुत, सरल र मितव्ययी सेवा हो भन्दै अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रणाली प्रयोग गरेर आफूहरुले यो सेवा सञ्चालनमा ल्याएको बताए । उनले सेलपेमा बैंक खाता कनेक्ट गरेपछि जुनसुकै बैंकमा वास्तविक समयमा रकम ट्रान्सफर गर्न तथा खरिदको भुक्तानी गर्न सकिने बताए ।

यसबाट इन्टरनेट सेवा, दूरसञ्चार सेवा, खानेपानी, बिजुली, टिभी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानीका साथै स्वदेशभित्र मनी ट्रान्सफर गर्न सकिन्छ । यस सेवाको एप गुगल प्लेस्टोर र एप्पल एपस्टोर दुवैमा उपलब्ध रहेको छ ।

प्रकाशित : १५ श्रावण २०७६, बुधबार ०७:०५