समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ



काठमाडौं । मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुको सुझाव थियो ।

सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको विज्ञान, प्रविधि र उद्योगसँगसँगै विषयक गोष्ठीका सहभागीले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् ।


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्यलाई पूरा गर्नका लागि त्यसको मुख्य आधारको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट सुदृढ र विकास गर्नुपर्नेमा जोड दिए ।

आफंैसँग रहेको स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको प्रवद्र्घनबाट मात्रै बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सकिने भन्दै उहाँले यसका लागि सम्पूर्ण लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद खनालले विज्ञान र प्रविधिलाई कसरी लघु, घरेलु तथा साना उद्योगसँग जोड्न सकिन्छ भन्नेतर्फ सरकारले योजना बनाउन लागेका जानकारी दिए ।

व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले समृद्घिको लागि उद्यमी हुनैपर्ने भन्दै उद्यम र उद्यमशीलता परम्परागत नभएर आधुनिक हुनुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित विज्ञान र प्रविधिको माध्यमबाट हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार १५:३५