साझाको सबै सेवालाई गुणस्तरियता ल्याउन मन्त्री अर्यालको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साझाको सबै सेवालाई गुणस्तरियता ल्याउन मन्त्री अर्यालको आग्रह



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति मोभिलाइज गरेर उत्पादनमा लगाउन आग्रह गर्नुभएको छ । साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज (मंगलबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहरुमन्त्री अर्यालले आग्रह गर्नुभएको हो । ‘भएको सम्पत्तिको मोभिलाइज गर्दै केही नयाँ गर्ने कुरामा मन्त्रालय अगाडि बढ्न तयार छ । छलफलबाट अगाडि बढौला’, उहाँले भन्नुभयो, ‘शेयर सदस्यहरूले अलि मन फुकाउनुस् । साझामा लगाएको शेयर डुब्लाकी भन्ने डर नमान्नुस अब अलि मन बढाएर उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस ।’

साझासँग रहेको सम्पत्ति जोगाउन आग्रह गर्दै उहाँले सम्पत्तिको सदुपयोग गरेर उत्पादनमा लगाउन आग्रह गर्नुभएको हो । ‘तपाईहरूसँग अथाह सम्पत्ति छ । त्यो सरकारको सम्पत्ति हो त्यसलाई जोगाउनुस । अतिक्रमित सम्पत्ति संरक्षण गर्नुस्’, उहाँले भन्नुभयो, ‘सम्पत्ति छ त्यसको सदुपयोग गरेर थोरै लगानीमा भएपनि गुणस्तरीय वस्तु दिने प्रयत्न गर्नुस ।’

साझा प्रकाशनलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा रहेको भन्दै मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । तर अहिले समय फेरिएकाले विगतको जस्तो अवस्था नरहेपनि जति सकिन्छ त्यति गुणस्तरिय सामग्री, वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।

समयअनुसार अहिलेको भूमिका अलिक फरक भएको भन्दै उहाँले संस्थाको प्रभावकारीता वृद्धि गरेर गुणस्तरीय वस्तु विक्रिवितरण गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो । खानेकुरा सँगै सेवाप्रवाह पनि रहेको भन्दै ती सबै कुरामा शुद्धता ल्याउन आग्रह गर्नुभयो । ‘बीचमा केही समस्या आयो भनेर तपाईहरु निराश नहुनुस । सरकार कानुन, सिस्टमबाट चलाउन हामी प्रयत्नरत छौ । राम्रो गर्नुपर्छ भन्ने हाम्रो सोचमा समानता छ । छलफलबाट राम्रो बनाउन, अगाडि बढाउने कुरामा म प्रतिवद्ध छु’, मन्त्री अर्यालले भन्नुभयो ।

तीन अर्ब पैसा उपलब्ध गराएर साझा यातायातलाई नयाँ ढंगले अगाडि बढाउन गइरहेको भन्दै मन्त्री अर्यालले जसको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

अर्को प्रसंगमा मन्त्री अर्यालले सहकारी सिद्धान्त, मर्म बिपरित रातारात सहकारीले कमाउने सपना देखेपछि सहकारीमा विकृत्ति आएको बताउनुभयो । तर त्यसलाई समयमै रोक्न सकिने बताउनुभयो ।

सबै सहकारीले आफ्नो डेटा ‘कोपोमिस’ प्रणालीमा दर्ता गराउनुस भनेर सिस्टममा आउन आग्रह गरिएको उहाँले आग्रह गर्नुभयो ।

सहकारीमा बचत गरेको रकम राखेर फाइदा नहुने भन्दै उहाँले त्यसलाई परिचालन गरेमा मात्रै फाइदा हुने बताउनुभयो । ‘सहकारीमा जम्मा गरेको पैसा पोको पारेर राखेर त्यसले फाइदा गर्दैन । त्यसलाई उत्पादनमा लगाएर फाइदा हुन्छ । शेयर सदस्यको हितमा काम गर्नुस्’, उहाँले भन्नुभयो । सहकारी संस्थामार्फत लगानीको निम्ति बाधक हुन्छ भनेपछि कानुन संशोधन गरेर जाने कुरामा सरकार अगाडि बढेको समेत मन्त्री अर्यालले बताउनुभयो ।

अब सहकारी संस्थाका सञ्चालकहरू पनि टीका लगाएर नभएर क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने सिस्टमको विकास गरिएको मन्त्री अर्यालले बताउनुभयो । त्यसको व्यवस्था सहकारी नियमावलीमा गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार १५:४९