आज देखि बजारमा नयाँ नोट साट्न पाइने, यी स्थानमा पाइन्छन सुकिला नोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

आज देखि बजारमा नयाँ नोट साट्न पाइने, यी स्थानमा पाइन्छन सुकिला नोट



काठमाडौं । शुक्रबार (आज) देखि बजारमा नयाँ नोट साट्न पाइने भएको छ । दशैँको अवसरमा नयाँ नोट साट्न पाइने भएको हाे। नेपाल राष्ट्र बैंकले दशैँमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवका आधारमा विभिन्न बैंक तथा वित्तिय संस्थामार्फत सटहीको सुविधा दिन लागेको हो ।

केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने भएको हो ।

नोट साट्न पाइने स्थान

नयाँ नो साट्नका लागि नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा व्यवस्था मिलाइएको छ भने राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोठिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट व्यवस्थापन गरिने भएको छ ।

त्यस्तै, कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सीमित मात्रामा नयाँ नोट सटही सुविधा मिलाइएको छ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न अनुरोध गरेको छ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार ०६:५३