चिया चाख्दै, घुम्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चिया चाख्दै, घुम्दै



युवराज गौतम

जव पूर्वको मेची राजमार्गले नागवेली रुप लिनथाल्छ तव यात्रुहरुको आँखाहरु ह्रियालीले भरिन्छ । साँच्चै झाँपाको बर्नेमा पुगेपछि हरियो कार्पेट झै देखिने चिया वगानले सबैका आँखाहरुलाई सोझयाउँछ । वर्ने पार गरेपछि नागवेली उकालो बाटो सूरु हुन्छ । सडकको दाँयाँ बाँया देखिएका चियाका बुट्टाहरुले जोकोहीको मन लोभ्याउन थाल्छ । आखिर यस्तै नागवेली पार गरेर तीनवर्ष अघि जर्मनमा एक जना नागरीक इलाम पुगेका थिए । इलामको सुन्दरपानी स्थित हरियाली चियावारी घुमिसकेपछि जर्मनी नागरीक थोमस होल्सलाई खुसीको सिमा रहेन । विश्वका दर्शनौं राष्ट्र घुमेर अनुभव संगालेका थोमस यहाँका थुम्का थुम्का डाडाभरि देखिएको हरियो चिया वगान र प्राकृतिक सौन्दर्यताबाट प्रभावित थिए । दोश्रो पटक इलाम आइपुगेका उनी किसानले घरगाउँमा नै उत्पादन गरेको अर्थोडक्स चिया चाख्न र चियावारी घुम्न निक्कै लालायीत भए । ’यहाँ प्रकृतिले अमुल्य उपहार दिएको रहेछ यसलाई स्थानीयले वेलैमा सदुपयोग गर्नुपर्छ ।’
tea

थोमस विश्वका नामुद चिया व्यापारी हुन् त्यसैले उनी नेपालको चियाको अवस्था बुझ्न यता आइरहन्छन् । यता आउँदा उनी स्थानियवासीसँग चिया किन्ने गफ मात्र गर्दैनन् पर्यटन विकासका मिठा अनुभव र सम्भावनाहरुका वारेमा वेलिविस्तार पनि लगाउँछन् । उनी यहाँ आउनुको उद्देश्य नेपाली चियालाई पूर्ण अर्यानिक वनाएर विश्व वजारमा विक्री तथा प्रबद्र्धन गर्नु हो । तर यहाको प्राकृतिक सुन्दरता देखेर उनमा हरियो चियावारीलाई ‘टि–टुरिजम’ सग जोडेर विकास गर्न सके यसले नेपालीहरुको आर्थिक अवस्थामा व्यापक सुधार हुने वताउँछन् । उनले भने –‘यहाँको प्राकृतिक सौदर्यतामा म प्रभावित भए यसलाई ‘टि–टुरिजम’ को अवधारणा अघि सार्न सल्लाह दिन्छु ।’
हुन पनि थोमससँगै आएका अन्य जर्मनी नागरिकहरु चियावारीमा धितमरुन्जेल घुम्छन अनि गाउँलेसँगै वसेर नेपाली चियाको स्वाद लिन्छन् ।

यस्तै टि एसोशियसन अमेरिकाका उपाध्यक्ष पिटर गार्जो दशजनाको टोली लिएर गत जेठको पहिलो साता इलाम आए । गार्जोलाई पनि इलाम मात्र होइन धनकुट्टा, पाँचथर लगायतका पहाडी जिल्लामा चियाले ढकाएर दोहोर आम्दानी लिनुपर्छ भन्ने लाग्यो । उनले भेटिएका सबैसँग यी डाँडाहरुमा टि–टुरिज्मको विकास गर्न सल्लाह दिइरहे । सुन्दरपानीका युवा जय राई भन्छन– ‘यहाँको हरियाली चिया वगानले अमेरिकी, जर्मनीहरुलाई नेपाल घुम्न आउने थप प्रेरणा र इच्छा जागेको छ’ जयले थपे । ‘यसले ‘टि–टुरिजम’को अवधारणालाई सघाउ पु¥याउन सक्छ’,उनले प्रष्टाए ।

नेपाली चिया उत्पादनको अवस्था, किसानहरुले खेती गर्ने प्रबिधि साथै चियाको अध्ययन अनुसन्धान गर्न आउने तेश्रो मुलुकका नागरीकहरुको संख्या दिनप्रतिदिन बढन थालेपछि इलाममा ‘टि–टुरिजम’ अत्यन्तै प्रभावकारी हुने सम्भावना देखिएको छ । इलाम मात्र होइन दानादार (सिटिसी) चिया उत्पादन हुने झाँपा, अर्थोडक्स (पत्ति) चिया उत्पादन हुने पाँचथर, धनकुट्टा, ते¥हथुम आदि स्थानहरुमा पनि चिया–पर्यटनको सम्भावना छ । नेपालका चर्चित चियाविज्ञ उदय चापागाई भन्छन–‘नेपाली चियाको उत्पादन, गुणस्तर र विश्व वजार प्रबद्र्धन सँगसगै यसमा पर्यटनलाई पनि साथै लग्न सके स्थानीय स्तरमा आयआर्जनमा बृद्धि हुनेछ ।’ उनले भने–‘टि–टुरिजम’ लाई अघि वढाउन सके हरेक चिया किसानलाई पर्यटकबाट मात्रै वार्षिक पचास हजार चोखो आम्दानी हुनेछ ।’ दिनभरी चिया वगान तथा कारखानाको अध्ययन भ्रमण गर्ने र वेलुकी किसानकै घरमा ‘पेइङ गेष्ट’ को रुपमा वस्ने व्यावस्था मिलाउनु पर्ने चापागाईको भनाइ छ ।

12476546_10201513766842113_1924776632_n

विश्वका अमेरीका, जापान, स्पेन भारत, श्रीलंका, चाइना, स्विजरल्याण्ड लागायतका राष्ट्रहरुबाट नेपाली चियाको अध्ययन भ्रमणमा पर्यटकहरु आउने गरेका छन् । दुई बर्ष अघि कन्याम चिया वगानको अध्ययन तथा अनुसन्धानात्मक भ्रमणमा आएका स्पेनका पाँच जना नागरीक यहाको प्राकृतिक रौनकतामा मात्र रमाएनन स्थानीय एक प्राथमिक विद्यालयलाई दश हजार आर्थिक सहयोग गरेर विदा भए । स्थानिय समाजसेवी डम्बर कटुवाल भन्छन–‘चिया भ्रमणमा आएका ती नागरीक ग्रामीण परिवेषमा गाउलेहरुले देखाएको सच्चा व्यावहारको प्रतिफल पनि दिएर गए । जसले एउटा गरिब विद्यालयलाई ठूलो राहत मिल्यो ।’ नेपालमा टि टुरिजमको सम्भावना प्रशस्त रहेकाले यसको विकासमा पहलकदमी अगाडी बढाउनु पर्ने भ्रमणदलमा रहेकी स्पेन नागरीक एलिनाले वताएकी थिइन् । इलाम आइपुगेका हरेक नागरीकलाई इलामेहरुले खुल्ला हृदयले आकर्षक ढंगले स्वागत गरेर पर्यटक तान्ने गरेका छन् । तेश्रो मुलुकका पर्यटक यस क्षेत्रमा वढाउन सके यसले स्थानिय जनजिवन सुधार हुन सक्ने मात्र होइन नेपालका लागि वरदान सावित हुनेछ ।

‘टि–टुरिजम’ का माध्यमबाट तेश्रो मुलुकका पर्यटक नेपाल भित्राउन आकर्षक कार्यक्रमहरु अघि वढाउन पहलहरु भइरहेका छन् । इलामका पर्यटन योजनाकार धर्म गौतमका अनुसार इलाम उद्योग वाणिज्य संघको पहलमा एस.एन.भी. नेपाल तथा श्रीलंकन सरकारको सहयोगमा नयाँ परियोजना मार्फत कार्यक्रम प्रश्ताव गरिएको छ । जस अन्तर्गत चिया वगान भित्र गेष्ट रुम, आकर्षक पार्क, तथा ट्रेकिङको व्यावस्था मिलाउन लगानीकर्तालाई आग्रह गरिने छ । देशमा शान्ति स्थापना पश्चात टि–टुरिजमको सम्भावना झनै बढेर गएको छ । भारत तथा चाइनाबाट नेपाली चियाको अध्ययन तथा अनुसन्धान भ्रमणका लागी पर्यटकको संख्या वढेको छ ।

पारिपट्टी दार्जिलिङ, सिक्किम लगायतका क्षेत्रमा टि टुरिजमको अवधारणा ल्याइएपछि त्यहाँको पर्यटकीय विकास आकाशिएको हो । नेपालमा कार्यरत दार्जिलिङ्गका चिया विशेषज्ञ एस. के. प्रधान भन्छन्–‘दार्जिलिङले चिया पर्यटनबाट मात्र आधा जनजिवन धानेको छ । यसको अवधारण नेपालमा विस्तार गरेर ‘गन्तब्य चियावारी’ वनाउन सके यहाको आर्थिक तथा सामाजिक विकासले उचाइ लिने पक्का छ उनले भने । तर नेपालमा यसको अवधारणालाई सरकारी तवरबाट कुनै पहल हुन सकिरहेको छैन् । तर पनि पर्यटन मन्त्रालयको निर्देशनमा मेची अञ्चललाई चिया–पर्यटन क्षेत्र घोषणा गरीएको छ । यसका लागि मेची पहाडी पर्यटन विकास समितिले कार्य गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन । चियाकै अध्ययन भ्रमणमा आउने पर्यटकहरुको संख्या वर्षेनी सुधार हुँदै गइरहेको छ ।

नेपालका तिन दर्जन जिल्लामा चिया खेती विकास तथा विस्तार भइरहेको छ । हालसम्म ८ हजार हेक्टरमा अर्थोडक्स चिया खेती भइरहेको छ । पर्यटकहरु नेपालको चिया वगान, यसको अवस्थाको अध्ययन अनुसन्धानका लागि विशेष मात्रामा आउने भएकाले पहाडी जिल्लाको प्राकृतिक स्वरुप हेरेर पनि भ्रमणको समयलाई वढाउने गरेका छन् । चिया अध्ययन गर्न आएका पर्यटकहरु गाउँमै वसेर लोकल चिया चाख्ने र चियावारी घुम्ने गर्छन् । यसले के पुष्टि गर्दछ भने चिया पर्यटनकै लागी भनेर इलाम कहलिएको छ । थुम्का थुम्का डाडाहरुमा आखाले भ्याएसम्मका चियाका हरिया बुट्टाहरु, अन्तुडाडाबाट उदाउने सूर्योदयको पहिलो लालीकिरण, डाडाकाडा भरि कोणधारी सल्लाघारी, नागवेली सडक खण्ड, पुराना बौद्धगुम्बा र मन्दिरहरु, कञ्चनजङ्गाको मनोरम दृष्य आदि रमणिय दृष्यहरुलाई क्यामेरामा कैद गर्दै रमाउन इलाम आइपुग्ने पर्यटकका लागि टि टुरिजमको अवधारणाले नेपाल पर्यटन क्षेत्रलाई थप टेवा पु¥याउन सक्ने अनुमान लगाउन सकिन्छ ।

चियावारी घुम्न आइसकेपछि यहाँ उत्पादन हुने ग्रिन टी, वाइट टी तथा गाउँमा उत्पादीत हाते चिया पर्यटकका आकर्षण भित्र पर्दछन । चिया–पर्यटनको प्रमुख गन्तब्य इलाम सम्म पुग्न काठमाडौबाट सिधा विमानबाट झापाको भद्रपुर सम्म लाग्दछ । झापाको भद्रपुरबाट चारआली र मेची राजमार्ग मार्फत ५० किलोमिटर गुडेपछि इलामको फिक्कल बजार पुगिन्छ । जसलाई चियाको राजधानी भन्ने गरिन्छ । फिक्कलको वास पछि नेपालको ठूलो चियाबगान कन्यामलाई फन्को लगाउन सकिन्छ । कन्याममा मिलेका डाँडामा फैलिएको चियाबगान अत्यन्त मनमहोक छ । त्यस्तै फिक्कलकै चिया–पर्यटनका रुपमा विकास हुन थालेको गोर्खा टि स्टेट र चियाले ढाकिएका सुन्दरपानीका गाउँहरु पुग्न सकिन्छ । सुन्दरपानीमा चिया पर्यटकलाई होम स्टे तयार छन । फिक्कल बाट नै पूर्ण रुपमा चियाबाट नै आत्मनिर्भर भइरहेको क्षेत्र अन्तु–समाल्बुङ्ग पुग्न सकिन्छ । श्रीअन्तुमा सूर्योदय दृश्यावलोकनको मजा लिन पनि सकिन्छ । यहाँ पनि होम स्टेको व्यवस्था छ । होम स्टे सस्तो र सुविधाजनक छ । फिक्कलबाट ३५ किलोमिटर गुडेपछि इलाम सदरमुकाम पुग्न सकिन्छ । यहाँ रहेको नेपालकै पुरानो चिया कारखानाको अवलोकन गर्न सकिन्छ । कारखानामा डेढसय बर्ष पुराना औजारहरुको अध्ययन गर्न सकिन्छ । ग्रिन सिटीको रुपमा विकास हुँदै गएको इलाम बजार र आडमा रहेको चिया बगान पर्यटकको रोजाइमा पर्दछ । यस चिया बगान भित्र पार्क, पोखरी तथा सुविधा जनक रेलिङ्गहरुको निर्माण भइरहेको छ । त्यस वाहेक पाँचथरको रानीटार, धनकुट्टा पनि चिया पर्यटकका अन्य गन्तव्यहरु हुन । समग्रमा चिया क्षेत्रको भ्रमण गर्न चानचुन १० देखि २० हजार सम्मको जोहो गर्न सके मनग्गे पुग्दछ । टि–टुरिज्मका लागि भनेर राजधानीको ठमेलमा रहेको इष्टर्न भ्यू ट्राभल्स एण्ड टुरिज्म र इष्टर्न प्याराडाइज ट्राभल्सले प्याकेजहरु तयार पारेको छ ।
–चिया–पर्यटनको अन्तराष्टिय अवस्था
चिया र पर्यटन भर्खरै चर्चामा आएपनि यसको विकास चिनमा धेरै अघि देखि नै प्रारम्भ भइसकेको हो । चीनको सिचुवान प्रान्तमा चियाको म्युजियम नै रहेको छ । त्यहाँको जंगलमा प्रथम पटक पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरिएको छ । त्यो पहाडी इलाका भएकाले आगन्तुक पर्यटकलाई माथि सम्म पुग्न रोप–वेको व्यवस्था गरिएको छ । जुन ठाउँ हेर्न वर्षेनी हजारौं जाने गर्दछन् । चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रुपमा भएको छ । चीन र जापानमा चियालाई पेय पदार्थका रुपमा मात्र होइन सभ्यताको रुपमा लिने गरिन्छ । ती दुई देशमा त्यहाँ उत्पादन हुने चियालाई ‘टि टेस्टिङ सेरोमनी’को रुपमा लोकप्रिय भएको छ । त्यहाँ ‘ब्रेक टि’, ‘ग्रीन टि’, ‘वाइट टि’, ‘व्ल्याक टि’ ‘अर्गानिकबाट पाहुना र पर्यटकलाई स्वागत गर्ने संस्कृति नै स्थापित भइसकेको छ ।

यसै अनुसार भारतको दार्जिलिङ, आसाम, डुवर्स लगायतका क्षेत्रमा पनि यसकोे विकास हुँदै गइरहेको छ । चिया तथा कफि विकास वोर्डका पूर्व कार्यकारी निर्देशक विनय मिश्रका अनुसार विश्वमा केन्याले चिया पर्यटनबाट मनग्गे फाइदा लिएको छ । पूर्व निर्देशक मिश्र भन्छन्–‘इलाममा भएको चियाको जात पनि‘ओर्जीनल चाइनीज सिड’ हो, जुन विश्वमा गुणस्तरयुक्त मानिन्छ यसलाई पर्यटनसँग जोडन सके विश्व वजारीकरणमा पनि बृद्धि हुनेमा दुइमत छैन् ।’ ‘संस्कृतिका रुपमा चिया विकसित हुँदै गइरहेको साथै अथितिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएकोले पर्यटनसँग जोड्नु आवश्यक रहेको मिश्रको बुझाइ छ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०७:२९