हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च छः राष्ट्रपति विद्यादेवी भण्डारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च छः राष्ट्रपति विद्यादेवी भण्डारी



महामहिम राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ प्रतिनिधि मण्डलका विशिष्ट सदस्यहरूलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो ।

महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन ७० औं वर्षगाँठको शुभ अवसरमा भइरहेको छ । यस अवसरमा महामहिम राष्ट्रपतिज्यू, चिनियाँ प्रतिनिधि मण्डल एवम् चिनियाँ मित्रहरूलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । साथै शताब्दीका दुई महान लक्ष्य प्राप्त गर्न मित्र राष्ट्र चीनलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरू अघि सारेको छ । प्रगतिशील सुधार योजना, भ्रष्टाचारविरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको राष्ट्रिय पुनर्जागरणसहितको चिनियाँ सपनाका महत्वपूर्ण आयामहरू हुन् ।

विश्वका १५० भन्दा बढी राष्ट्रहरू तथा दर्जनौं संघसंस्थाहरू बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) को पक्ष बनेका छन् । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी जिनपिङ विचारधारा जनताकेन्दि्रत विकासको एक महत्वपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चीनका नेताको सक्षम र दूरदर्शी नेतृत्व र चिनियाँ जनताको साथ महत्वूर्ण छ भन्ने मलाई लागेको छ ।

महामहिमज्यू, गत अपि्रलमा मैले गरेको चीनको राजकीय भ्रमणको सम्झाना मलाई ताजै छ । महामहिमज्यूको सुन्दर गृहनगर र रेशम मार्गको उद्गमस्थल सियान शहरबाट सुरु भएको मेरो भ्रमण अवधिभरि मप्रति दर्शाइएको न्यानो स्वागत र आतिथ्यताका लागि म कृतज्ञ छु । उक्त भ्रमणका अवसरमा महामहिमसँग भएको भेटवार्ताबाट नेपाल चीन सम्बन्धलाई थप उर्जा प्रदान गर्न मद्दत पुगेको मैले विश्वास लिएको छु । भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात सम्झौताको प्रोटकोलले चीनका तीनवटा भू-बन्दरगाह र चारवटा सामुन्दि्रक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको छ ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड फोरममा मेरो सहभागिता तथा सम्बोधनले नेपालको विकासको आकांक्षालाई मुखरित गर्न मद्दत पुगेको मैले ठानेको छु । उक्त फोरमको लिडर्स राउन्ड टेबलको समापनमा जारी भएको संयुक्त विज्ञप्तिमा नेपाल-चीन हिमालय वारपार बहुआयाममिक कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्ग समावेश भएका छन् । यसबाट भुपरिबेष्टित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्नेछ । यस सन्दर्भमा म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन् २०१६ र सन् १८ मा सम्पन्न चीनको भ्रमणले दुईपक्षीय सम्बन्धलाई मूल दिशा दिन पुर्‍याएको योगदानको स्मरण गर्न चाहान्छु ।

महामहिमज्यू, नेपाल र जनवादी गणतन्त्र चीन हिमाल तथा नदीहरुद्वारा जोडिएका छन् । हामीबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रही आएको छ । चिनियाँ भिक्षु खासियान र मुराङ्सान तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जगाएको जनस्तरको सम्बन्ध र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन् । पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत र समस्यारहित छ । हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च छ । पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावनाहरु छन् ।

महामहिमज्यू, नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्रै नभएर बौद्धधर्मको उद्गमस्थल पनि हो । बुद्धका शाश्वत उपदेशहरुले मानव जातिलाई शान्ति, सहिष्णुता र सहअस्तित्वको मार्गदर्शन गरिरहेका छन् । यसर्थ लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौं ।

चीनले सदैब नेपालको सार्वभौमसत्ता राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएको छ । नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध छ । नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिवद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरु अवलम्वन गर्दै आएका छौं ।

सीमा वारपार र कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौं । नेपाली जनताले केरुङ हुँदै काठमाडौंसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन् । रेल्वेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्षमा नेपालीहरुको यो चाहाना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।

महामहिमज्यू, महामहिमसँग यसअघि भएको छलफलबाट अभिप्रेरित हुँदै ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं ।

हामीले जतिसक्दो चाँडो अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुँदै सन् २०३० सम्म मध्यम आय भएको मुलुकका रुपमा परिणत हुने उद्देश्य राखेका छौं । यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोत साधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगार्नकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायतका सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौं । सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।

भूकम्पपछिको पुननिर्माणमा चीनले पुर्‍याएको सहयोगको हामी उच्च प्रशंशा गर्दछौं । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गरेका छौं ।

जलवायु परिवर्तनका कारण हाम्रो पर्वतीय पर्यावरण र अर्थतन्त्र संवेदनशील बनेको छ । तसर्थ पर्वतीय पर्यावरणलाई संरक्षण गर्दै अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रयास केन्दि्रत गर्ने उद्देश्यले आगामी वर्ष अपि्रल महिनामा काठमाडौंमा ‘सगरमाथा सम्वाद’ को आयोजना गर्ने तयारी गरिरहेका छौं । सो कार्यक्रममा चीन सरकारका तर्फबाट उच्च तहको प्रतिनिधित्व हुने अपेक्षा गरेका छांै ।

महामहिमज्यू, शान्ति स्थायित्व र विकासका लागि बहुपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र चीनसँगै उभिँदै आएका छन् । साझा चासोका क्षेत्रीय सवालमा हाम्रो सहकार्य जारी छ । विधिमा आधारित विश्व व्यवस्थाले चुनौति बेहोर्नुपरेको परेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरुबीचको ऐक्यवद्धता र सहकार्य अपरिहार्य छ । शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्व व्यवस्था निर्माणका लागि चीनले खेल्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंशा गर्दछौं ।

महामहिमज्यू, भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ । इतिहास, संस्कृति र जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ । ब्यापार, लगानी र आर्थिक अन्तरनिर्भरताले हामीलाई साझा भविश्यका लागि सहकार्य गर्ने बलियो साझेदार बनाएको छ । दुबै देश र जनताको हितमा हुने गरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन हामी प्रतिवद्ध छौं ।

यिनै शब्दहरुका साथ महामहिमको सुस्वास्थ्य र खुसीका लागि, नेपाल र चीनबीचको बलियो मित्रताका लागि, नेपाल र जनवादी गणतन्त्र चीनका जनताको अनन्त शान्ति र समृद्धिका लागि (चियर्स) प्रस्ताव गर्न चाहान्छु । र, उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरुलाई यसमा सरिक हुन आह्वान गर्दछु ।

(चिनियाँ राष्ट्रपतिको सम्मानमा आयोजित रात्रीभोजमा राष्ट्रपति भण्डारीले गरेको सम्वोधन)

प्रकाशित : २६ आश्विन २०७६, आईतवार ०९:२१