आयो बजाजको इलेक्ट्रिक स्कुटर, यस्ता छन बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आयो बजाजको इलेक्ट्रिक स्कुटर, यस्ता छन बिशेषता



बजाजले अर्बानाइट सब–डिभिजनको रुपमा आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई भारतीय बजारमा सार्वजनिक गरेको छ ।

यससँगै इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने यो पहिलो मेनस्ट्रिम इन्डियन मोटरसाइकल ब्रान्ड बनेको छ । बजाजले पहिले पनि चेतक स्कुटरलाई बजारमा ल्याएको थियो । तर बीचमा यसको उत्पादन बन्द गरिएको थियो । अब इलेक्ट्रिक स्कुटरको साथमा चेतक नेमप्लेट फेरि १४ वर्ष पछि पुनरागमन भएको छ ।

गत सेप्टेम्बर २५ देखि यसको उत्पादन थालिएको र आगामी २०२० जनवरीमा यसको लन्च गरिने कम्पनीले जानकारी दिएको छ । यसको मूल्य पनि त्यही समयमा सार्वजनिक हुनेछ ।

सो स्कुटर रेट्रो–मोडर्न डिजाइनको हुनेछ भने हाल प्रचलित भेस्पा स्कुटरको स्टाइलबाट यो प्रभावित हुनेछ । यसको अघिल्लो भागमा राउन्ड हेडल्याम्प हुनेछ, जुन अल–एलईडी वा एलईडी डीआरएलको हुनेछ ।

यसमा आईपी ६७ लिथिएम आयन ब्याट्री दिइएको छ । फुल डिजिटल इन्ट्रयुमेन्ट कन्सोल छ । यसमा रहेका हरेक फिचर मोबाइलबाट कन्ट्रोल गर्न सकिने बताइएको छ ।

कम्पनीले आजबाटै २० वटा चेतक स्कुटर बिभिन्न सहर हुँदै महाराष्ट्रको पुनेसम्मको ३ हजार किलोमिटर यात्रा सुरु गरेको छ ।

यसमा दुई वटा राइडिङ मोड इको र स्पोर्ट हुनेछ । त्यसैगरी रिभर्स असिष्ट फिचर समेत हुनेछ । यसलाई ५ एम्पियरको होम पावर आउटलेटबाट चार्ज गर्न सकिने छ र होम चार्जिङ स्टेसन बजाजले नै सस्तो मूल्यमा उपलब्ध गराउने बताएको छ ।

बजाज अटोका एमडी राजीव बजाजले यसको मूल्य भारतीय बजारमा १ लाख ५० हजार भारु भन्दा बढी नहुने बताएका छन् । जे भए तापनि बजाजको यो स्कुटर बजारमा आयो भने फेरि अर्को हलचल हुने अनुमान गर्न सकिन्छ ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार ०७:४७