जलविद्युत, कृषि र शहरी पूर्वाधारको क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई अर्थमन्त्रीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जलविद्युत, कृषि र शहरी पूर्वाधारको क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई अर्थमन्त्रीको आग्रह



अर्थमन्त्री डा‍ युवराज खतिवडाले नेपालको जलविद्युत, कृषि र शहरी पूर्वाधारको क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ् गभर्नरको प्लेनरी सेसनमा उनले विश्व समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन ।

यस्तै उनले अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीहरुसँग भएको भेटमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सबल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधीकरण गर्नुपर्ने विषयमा जोड दिए ।

उनले पूर्वाधार विकासका लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराए। उनले नेपालको पूँजी बजार सानो भएकाले बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पूँजी परिचालन जरुरी भएको बताए ।

यस्तै दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सम्बोधन गरेका अर्थमन्त्री खतिवडाले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ पक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारी साधनको परीक्षण र यातायात क्षेत्रको नियमन जस्ता विषयमा ध्यान पुर्‍याउनुपर्ने बताए ।

यस्तै युरोमनी पत्रिकासँगको एक अन्तवार्ताको क्रममा अर्थमन्त्री डाक्टर खतिवडाले निजी लगानीकर्तालाई नेपालमा लगानी गर्दा जोखमको यथार्थ विष्लेषण गर्न सहयोग पुर्‍याउन र लगानीमा जोखिमबापत बढी प्रिमियम नलिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिट रेटिङ गर्ने कार्य सुरु गरिसकेको जानकारी गराउनुभयो ।

त्यस्तै विश्वव्यापी आर्थिक सिथिलताले नेपालको वैदेशिक श्रम बजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने सम्भावित प्रतिकुलता सामना गर्नुपर्नेतर्फ सजग रहेको जानकारी दिनुभयो ।

अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तर्राष्टिय तहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार ०८:१८