प्रधानमन्त्री ओली एक साता लामो भ्रमणका लागि आज चीनतर्फ जाँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्री ओली एक साता लामो भ्रमणका लागि आज चीनतर्फ जाँदै



kpकाठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो भ्रमणका लागि आज चीनतर्फ जाँदैछन् । दक्षिणी छिमेकी भारतको भ्रमणपछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणलाई राजनीतिक सम्बन्ध सुधारको लागि हुन लागेको भनिएको छ । तथापि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा द्विपक्षीय केही रणनीतिक महत्वका विषयहरुमा सहमति हुनेछ । ओलीको भ्रमणमा द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन, भूकम्पपछिको पुनर्निर्माणका विषय प्राथमिकता छन् । संविधान निर्माणपछि नेपालका सरकार प्रमुखको यो पहिलो भ्रमण हो ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा बहुप्रचारित इन्धन खरिद सम्झौता भने नहुने पक्कापक्की भएको छ । त्यस्तै, चिनियाँ लगानी प्रवद्र्धन गर्न नेपालले चीन सरकारसँग प्रस्ताव गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा) मा हस्ताक्षरका लागि गृहकार्य पुरा भैनसकेको उद्योग मन्त्रालयले जनाएको छ । बहुप्रचारित यी दुई विषयबाहेक प्रधानमन्त्रीले नेपालको विकासमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको साथ र सहयोग खोज्नेछन् ।
नेपालले भारतसँगै जस्तै भूपरिवेष्ठित देशले छिमेकी राष्ट्रहरुबाट पाउने समुद्रसम्मको पहुँचका लागि पारवहन सम्झौता गर्न लागेको छ । चीनसँग नेपालले पहिलोपटक यो सम्झौता गर्न लागेको हो । अहिलेसम्म नेपालले समुद्रसम्मको पहुँचका लागि भारतको कलकत्ता बन्दरगाह प्रयोग गर्दै आएको थियो भने प्रधानमन्त्री ओलीको केही समयअघिको भ्रमणका क्रममा विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौतामा हस्ताक्षर भएको छ भने बंगलादेशको रोहनपुर बाट भारतको सिंहवादसम्म रेलमार्ग प्रयोग गरी व्यापार गर्न पाउने सम्झौता भएको छ । नेपालले यस्तै समुद्रसम्म पहुँच र चिनियाँ स्थल मार्ग प्रयोगका लागि सम्झौता गर्न लागेको हो ।
यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौताको तयारी छ । नेपालले चिनियाँ जहाज आयात गर्ने सम्बन्धि अन्तिम सम्झौता पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा हुने बताइएको छ । केही जलविद्युत् परियोजनाहरु –पश्चिम सेती, माथिल्लो अरुण तथा ठूला प्रसारणलाइन परियोजनाहरु निर्माणका लागि प्रधानमन्त्रीले चिनियाँ सहयोग खोज्नेछन् । यसबाहेक चीनसँगका केही नयाँ नाकाहरु– मुस्ताङको कोराला तथा संखुवासभाको किमाथांका तथा भूकम्पपछि अवरुद्ध तातोपानी तथा रसुवागढी नाका सुचारु गर्नुका साथै स्तरोन्नतिका लागि पहल गर्नेछन् । चिनियाँ लगानीकर्ताहरु आकर्षित गर्न तथा दुई मुलुकबीच व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चिनियाँ बैंकलाई नेपालमा शाखा खोल्न अनुमति दिने सम्बन्धी सम्झौता हुने बताइएको छ । प्रधानमन्त्रीले चिनियाँ प्रविधि नेपाल भित्र्याउन नेपालमा चिनियाँ सहयोगमा विज्ञान प्रविधि प्रतिष्ठान खोल्ने प्रस्ताव गर्नेछन् ।
नेपालमा हालैको इन्धन संकटलाई दृष्टिगत गरी प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा ४२ हजार किलो लिटर सम्मको इन्धन भण्डारणका लागि चिनियाँ पक्षको सहयोग माग हुनेछ । इन्धन भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको खैरेनीटार र काभ्रेको पाँचखालमा सम्भाव्यता रहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच स्वतन्त्र व्यापार क्षेत्र (फ्रि ट्रेड एरिया) सम्झौताका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । यसबाहेक काठमाडौंमा चिनियाँ सहयोगमा मोनो रेलको सम्भाव्यता अध्ययनका लागि दुई पक्षबीच सहमति हुने बुझिएको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा समकक्षी ली तथा राष्ट्रपति सी जिनपिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिहरु र सञ्चार माध्यमका प्रतिनिधि रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित : ७ चैत्र २०७२, आईतवार ०५:२४