महिला बचत तथा ऋण सहकारी विरुद्ध मुद्धा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

महिला बचत तथा ऋण सहकारी विरुद्ध मुद्धा



mahila-saccosकाठमाडौं । नीति विपरीत कार्य गर्दै आएको इटहरी–४ मा संचालित महिला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय सुनसरीमा मुद्धा दर्ता भएको छ ।
शुक्रबार महिला बचत तथा ऋण सहकारी संस्थाकी निर्वतमान अध्यक्ष गीता श्रेष्ठ र सचिव स्मारिका थाम्सुहाङले संयुक्त रुपमा महिला बचतविरुद्ध सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय सुनसरीमा मुद्धा दर्ता गराएका हुन् । उनीहरुले दर्ता गरेको मुद्धाको दर्ता नम्बर १४३९ हो ।
श्रेष्ठ र थाम्सुहाङले दर्ता गरेको मुद्धामा सदस्यहरुले दुःख र कष्ट गरी संचालन गरिरहेको महिला बचतमा हाल आएर वर्तमान कार्यसमितिले नीति विपरीत व्यक्तिगत स्वार्थमा लागेर अनेकौं प्रकारका गतिविधिहरु गरिरहेको उल्लेख छ । सहकारी डिभिजन कार्यालयमा दर्ता गरिएको मुद्धाको निवेदनमा संस्थामा शेयर सदस्य थपका लागि प्रचार प्रसार गर्न भनी संचालक समितिकै सदस्य पद्यमा पन्धाकलाई मासिक ३ हजार तलब दिएर खटाइएको उल्लेख छ । त्यसैगरी, नयाँ शेयर सदस्य बनाउने जोकोहीलाई प्रति सदस्य १ सयका दर कमिसन दिने निर्णय नीति विपरीत भएको पनि निवेदनमा उल्लेख गरिएको छ ।
निवेदनमा वर्तमान कार्यसमितिले संस्थामा एकलौटी पाराले आफ्ना पक्षका सदस्यहरुलाई राखी उनीहरुलाई चेप्ने र अरुलाई पेल्ने नीति अवलम्बन गरेको दाबी पनि गरिएको छ । निवेदनमा आफ्नो पक्षमा काम गराउन फेल भएका एकलाई अधिकृत तहमा नियुक्ति गरी संस्थालाई व्यक्तिगत रुपमा संचालन गरिएको उल्लेख छ ।
नीति विपरीत वर्तमान कार्यसमितिले महिला बचत संचालन गरिरहेकाले त्यसको समयमै निरीक्षण गरी त्यस्ता नीति विपरीतका कार्य गराउने परिपाटी बन्द गराउन निवेदनमा अनुरोध समेत गरिएको छ । निवेदनमा भूकम्पले चर्काएर बस्न समेत नमिल्ने हाल महिला बचत संचालन भइरहेको भवनमा तडक भडकका साथ रंगरोगन गरेर फजुल खर्च समेत गरेको दाबी गरिएको छ । सदस्यहरुको सल्लाह सुझावबिना नै व्यक्तिगत रुपमा संस्था संचालन भइरहेकाले भविष्यमा संस्था धारासायी हुने अवस्था देखिएकाले समयमै जानकारी गराएको श्रेष्ठ र थाम्सुहाङले दर्ता गराएको निवेदनमा उल्लेख गरिएको छ ।
निवेदनमा संस्थामा सदस्य बन्दा स्वेच्छिक रुपमा हुनुपर्ने, प्रचार प्रसार  र विज्ञापन गर्न नपाइने सहकारी सिद्धान्त विपरीत सदस्य बनाउन प्रचार प्रसार गरिएको उल्लेख छ । ‘त्यसमा लागि एक सदस्य बनाए बापत १ सय रुपियाँ दिन मिल्छ ? यस्तो कार्य नीति विपरित भएन र ?’ भन्दै डिभिजन कार्यालयमा दर्ता गरिएको निवेदनमा प्रश्न समेत गरिएको छ । निवेदनमा नीतिअनुसार संस्था संचालनको वातावरण बनाउन पनि डिभिजन कार्यालयलाई आग्रह गरिएको छ । डिभिजन कार्यालयमा दिएको निवेदनको बोधार्थ नेफ्स्कून पूर्वाञ्चल कार्यालय इटहरीलाई समेत दिइएको छ ।
सहकारी डिभिजन कार्यालयमा दिएको निवेदनमाथि गम्भीर ढंगले छानबिन प्रक्रिया अगाडि नबढाए सहकारी मन्त्रालय, विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने योजना रहेको संस्थाकी  निर्वमान अध्यक्ष  गीता श्रेष्ठले बताइन् । उनकाअनुसार संस्थाले नीति विपरीत कार्य गरेको बिषयमा संचारमाध्यममा आए पनि लाज पचाएर कमिसन दिएर नयाँ शेयर सदस्य बनाउने कार्य जारी राखेकाले बाध्य भएर डिभिजन कार्यालयमा मुद्धाका लागि निवेदन दर्ता गरिएको हो ।
रकम फिर्ता 
प्रमाणका लागि ३ जना नयाँ शेयर सदस्य बनाएबापत महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट बुझेको ३ सय रुपियाँ संस्थाकी  निर्वतमान अध्यक्ष गीता श्रेष्ठले संस्थालार्ई नै फिर्ता गरिदिएकी छिन् ।  उनले बिहीबार ३ सय रुपियाँ फिर्ता गरेकी हुन् । उनले ४७६१० नम्बरको  नगदी रसिदमार्फत महिला बचतलाई ३ सय रुपियाँ फिर्ता दिएकी हुन् ।
महिला बचतमा खैलाबैला
नीति विपरीत कार्य गरेको बिषयमा स–प्रमाण पूर्बी बजार साप्ताहिकमा समाचार प्रकाशित भएपछि महिला बचतभित्र खैलाबैला नै मच्चिएको छ । धेरै शेयर सदस्यहरुले महिला बचतको हालको कार्यसमितिले नीति विपरीत गरेको निर्णयका बारेमा चासो राख्न थालेका छन् । सचेत शेयर सदस्यहरुले वर्तमान कार्यासमितिका पदाधिकारीहरुलाई नीति विपरीत भइरहेका कार्यका बारेमा कडा रुपमा प्रश्न पनि गर्न थालेका छन् । त्यति मात्रै होइन् वर्तमान कार्यसमितिका केही सदस्यहरुले पनि अबका दिनमा नीति विपरीतका कार्य गर्न नहुने भन्दै अध्यक्ष अमृता सुब्बालाई सुझाव दिएका छन् । कार्यसमितिकै पदाधिकारीहरु बीच जनता बहुमुखी क्याम्पसकी प्राध्यापक समेत रहेकी पद्यमा पन्धाकलाई मासिक ३ हजार तलब दिने निर्णय गलत भएको बताएका छन् । कार्यसमितिका केही पदाधिकारीले शिक्षा उप–समिति संयोजक पन्धाकलाई मासिक तलब दिने निर्णयका बिषयमा कुरा उठाएपछि असारबाट उता पन्धाकलाई त्यसरी मासिक तलब नदिने आश्वासन अध्यक्ष सुब्बाले दिएको स्रोतको भनाई छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ११:१८