अटोमोबाइल मेलाकोे १५औं संस्करण दिल्लीमा जारी,विद्युतीय सवारीकै वर्चस्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

अटोमोबाइल मेलाकोे १५औं संस्करण दिल्लीमा जारी,विद्युतीय सवारीकै वर्चस्व



नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो अटोमोबाइल मेलाकोे १५औं संस्करण दिल्लीमा जारी छ । प्रत्येक २ वर्षमा आयोजना हुने एक्स्पोमा यस वर्ष विद्युतीय सवारीका लागि विशेष देखिएको छ ।

भारत सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न बजेटमा विशेष प्रोत्साहन गरेपछि विद्युतीय सवारीप्रति मोह बढेको देखिन्छ । ठूलो मात्रामा हुने इन्धन आयात र बढ्दो प्रदूषणलाई नियन्त्रण गर्न भारत सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । हाल भारतमा ६ प्रतिशतभन्दा कम विद्युतीय सवारी छन् । भारतले सन् २०३० सम्म यसलाई बढाएर ३० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । नर्वे, नेदरल्यान्ड, आयरल्यान्ड लगायतका देशले सन् २०३० सम्म सबै यात्रुवाहक सवारीलाई विद्युतीय बनाउने घोषणा गरिसकेका छन् ।

विश्वका ठूला सवारीसाधन उत्पादक कम्पनीहरू विद्युतीय सवारीलाई अटोमोबाइलको भविष्य मान्छन् र उनीहरू विद्युतीय सवारी उत्पादनतर्फ लागेका छन् । भारत सरकारले विद्युतीय सवारीमा जीएसटीमा विशेष छुट, अतिरिक्त आयकर छुट, गाडी कर्जामा कम ब्याजदर लगायतको छूट दिइरहेको छ । जारी दिल्ली अटो एक्स्पोमा भारतमै विभिन्न कम्पनीले उत्साहका साथ विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेका छन् ।

एक्स्पोमा टाटाले अल्ट्रोज ईभी प्यासेन्जर कार सार्वजनिक गरेको छ । यो कार यसभन्दा अघि जेनेभा मोटर शोमा प्रदर्शन गरिएको थियो । महिन्द्राले सन् २०१८ को दिल्ली अटो एक्स्पोमा कन्सेप्ट कारको रुपमा प्रस्तुत गरेको ई–केयूभी कार सार्वजनिक गर्‍यो । रेनोले सिटी केजेड–ई मोडलको विद्युतीय प्यासेन्जर कार प्रदर्शनीमा राखेको छ । रेनोको सबैभन्दा सानो आकारको यो कार यसभन्दा पहिले २०१७ को सांघाई मोटर शोमा प्रदर्शन गरिएको थियो । यसैगरी एमजीले विद्युतीय मार्भल एक्स प्यासेन्जर कार सार्वजनिक गरेको छ । यो कार पनि सांघाई अटो शोमा ई–कन्सेप्टको रूपमा प्रदर्शन गरिएको थियो ।

यस्तै कियाले सोल ईभी प्यासेन्जर कार अटो एक्स्पोमा राखेको छ । हाल कोरिया लगायतका मुलुकमा विक्री भइरहेको यो कार भारतमा पनि राम्रो विक्री हुने कम्पनीको दाबी छ । एक्स्पोमा राम्रो फिडब्याक पाएको अर्को विद्युतीय कार सुजुकी जिम्नी हो ।

चीनको कार निर्माता कम्पनी ग्रेट वाल मोटर्सले पहिलोपटक भारतमा आफ्नो गाडी प्रदर्शन गरेको छ । ग्रेटवालले ओरा आर १ मोडलको विद्युतीय कार प्रदर्शनीमा राखेको हो । यो संसारको सबैभन्दा सस्तो विद्युतीय कार भएको दाबी कम्पनीको छ । यसको मूल्य चीनमा साढे ८ हजार अमेरिकी डलर छ ।

प्रदर्शनीमा बीवाइडीको ओलेक्ट्रा, जेबीएमको जेबीएम इलेक्ट्रिक, एआरएआईको कन्सेप्ट विद्युतीय बस, टाटाको स्टारबस लगायत विद्युतीय बस प्रदर्शन गरिएका छन् । यस्तै दुईपांग्रेतर्फ टेसेरो विद्युतीय मोटरसाइकल, हिरो इलेक्ट्रिक एई, डेभोट इलेक्ट्रिक मोटरसाइकल लगायत विद्युतीय सवारी प्रदर्शन गरिएका छन् ।

आयोजकले अटो एक्स्पोमा यूरो–६ मापदण्डका सवारी हुनुपर्ने बाध्यकारी नियम राखेपछि धेरै कम्पनी सहभागी भएनन् । एक्स्पोमा दुईपांग्रे सवारीको सहभागिता पनि न्यून छ ।

भारतले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिँदा त्यसको प्रभाव नेपाली अटोमोबाइल बजार पनि प्रभाव पार्ने नेपाली व्यवसायीहरू बताउँछन् । भारतमा विद्युतीय सवारीको बजार बढेसँगै नेपालमा पनि विद्युतीय सवारीसाधन त्यही मात्रामा भित्रिने नाडाका महासचिव सुनिल रिजालले बताए । भारतमा भइरहेको अटो एक्स्पोले विद्युतीय सवारी उत्साहजनक रूपमा देखिएको उनी बताउँछन् । नेपालमा पनि विद्युतीय सवारीलाई सरकारले प्रोत्साहन गरिरहेको छ र व्यवसायी पनि विद्युतीय सवारीतर्फ आकर्षित भएकाले आवश्यक पूर्वाधार निर्माण भएमा नेपालमा विद्युतीय सवारी उत्साहजनक रूपमा देखिने उनले बताए । ‘नेपालको अटोमोबाइल बजारमा अधिकांश उत्पादन भारतबाटै आउने हुँदा त्यहाँ विद्युतीय सवारीसाधनको उत्पादन बढेमा त्यसको प्रभाव नेपालमा पर्छ नै,’ नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

प्रकाशित : २८ माघ २०७६, मंगलवार ०८:०५