नेपाल इकोनोमिक्स ओलम्पीयडको राष्ट्रिय प्रतिस्पर्धा शुक्रवारदेखि शुरु हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल इकोनोमिक्स ओलम्पीयडको राष्ट्रिय प्रतिस्पर्धा शुक्रवारदेखि शुरु हुँदै



काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पीयड (एनईओ) २०२०को राष्ट्रिय प्रतिस्पर्धा शुक्रवारदेखि शुरु हुने भएको छ । युवा अर्थशास्त्रीहरुको संस्था योङ इकोनोमिष्ट सोसाईटी नेपालले आयोजना गरेको यस प्रतिस्पर्धाले अर्थशास्त्र, वित्त र व्यवासयमा प्रतिभाशाली विद्यार्थीको खोजि गर्ने छ । उत्कृष्ट पाँच प्रतिस्पर्धी विद्यार्थीले काजकिस्तानमा हुने आगामी जुलाईमा हुने ‘इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड (आईईओ) २०२०’का लागि नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।


इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड २०१९मा दीपशिखा श्रेष्ठले नेपालका लागि कांश्य पदक जितेकी थिईन् । सन् २०२०को इन्टरनेशनल ओलप्मीयडमा स्वर्ण पदक जित्ने लक्ष्य सहित योङ इकोनोमिष्ट सोसाईटी नेपालले ‘नेपाल ओलम्पीयड २०२०’ आयोजना गरिरहेको सोसाईटीका अध्यक्ष अभिषेक पाण्डेले बताए ।


नेपाल इकोनोमिक्स ओलम्पीयड २०२०का लागि क्षेत्रीय छनौट कार्यक्रम काठमाडौं, इटहरी, वीरगञ्ज, भारतपुर, बुटवल र पोखरामा आयोजना गरिएको थियो । गत १ फेब्रअरीमा आयोजित प्रतिस्पर्धामा २ सय ५० जना सहभागी रहेका थिए । क्षेत्रीय छनौटकै अवसरमा करीब ६ सय विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रम समेत गरिएको थियो । राष्ट्रिय प्रतिस्पर्धाका लागि ६० जना विद्यार्थी छनौट भएको उनले जानकारी दिए । यूलेन्स स्कुल काठमाडौंमा हुने तीन दिने राष्ट्रिय छनौट प्रतिस्पर्धाकै क्रममा तालिम, मन्त्वय, अनुभव साटासाट, अन्तरक्रियालगायत कार्यक्रम समेत गरिने छ । उत्कृष्ट ५ जना विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड २०२०मा सहभागी हुन पाउने छन् । आगामी जुन २१ देखि ३०सम्म काजकिस्तानको नुर सुल्तानमा इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड २०२० आयोजना हुने तय भएको छ ।


योङ इकोनोमिष्ट सोसाईटीले वार्षिकरुपमा नेपाल इकोनोमिक्स ओलम्पीयड कार्यक्रम गर्दै आएको छ । इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड (आईईओ)ले नियुक्ती गरेको संस्था योङ इकोनोमिष्ट सोसाईटी नेपाल हो । यस वर्षको कार्यक्रमलाई आईएमईपे, युलेन्स स्कुल, एक्साईड ब्याट्री, सानिमा बैंक, टुर्किस एयरलाईन्स, किङ्ग्स कलेज, हिमालयन सोलुसन, नेपाल दूरसञ्चार प्राधिकरण, सेजनलगायत संस्थाले सहयोग गरेका छन् ।

प्रकाशित : २९ माघ २०७६, बुधबार ०७:५१