सहकारी क्षेत्रः सम्पत्ती शुद्धिकरण निवारणका लागि सबैभन्दा ठूलो चुनौती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी क्षेत्रः सम्पत्ती शुद्धिकरण निवारणका लागि सबैभन्दा ठूलो चुनौती



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको बताएका छन् । सहकारीले ठूलो वित्तीय दायित्व बोकेको भएपनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन परिपालनामा अरु क्षेत्रका तुलनामा सहकारी कमजोर भएका कारण उच्च जोखिममा रहेको उनको भनाइ थियो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आईतबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा सम्पत्ती शुद्धीकरण निवारण’ विषयक छलफल कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले कर छली, मानव बेचविखन, बैकिङ ठगी लगायत गैरकानुनी तरिकाबाट कमाएको रकम सहकारी क्षेत्रमा पुगेको देखिएको बताए । उनले भने ‘अहिले सहकारी क्षेत्रलाई हामीले सम्पत्ती शुद्धिकरण निवारणका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखेका छौं ।

यसबारे सहकारी विभागलाई जानकारी गराएर अगुगमन नियमनका लागि निर्देशन दिइसकेका छौं’ । ‘सहकारीमा सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी कानुन परिपालनाका लागि स्वयं प्रारम्भिक संस्था नै जिम्मेवार हुनुपर्ने भएपनि कर्मचारीलाई त्यसबारे जानकारी नै छैन । आन्तरिक सुशासन र वित्तीय पारदर्शिताका लागि सम्पत्ती सुद्धिकरण आवस्यक रहेका कारण सहकारी विभागले गम्भीर भएर अनुगमन गर्नुपर्छ ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी क्षेत्रबाट ठूलो संख्यामा कर्जा र निक्षेप प्रवाह भईरहेकाले वित्तीय जोखिम बढी रहेको बताए । ‘ठूलो आर्थिक कारोबार सहकारी संस्थाले गरिरहेका छन् । तर त्यो रकम कहाँबाट आय आर्जन भएको हो र कहाँ खर्च हुँदैछ भनेर सोधखोज गरिदैन । पछिल्लो समय हामीले सहकारीमा सम्पत्ति सुद्धिकरण निवारणसम्बन्धी निर्देशिका जारी गरेका छौं । त्यसको अक्षरस पालना गरियोस् उनले भने, ‘सहकारीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी जानकारी गराउने विषयलाई विभागले गम्भीरताका साथ अगाडि बढाएको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सम्पत्ति शुद्धिकरण ऐन २०६४ र कार्यविधि २०७४ कार्यान्वयन गर्न सहकारी क्षेत्र प्रतिवद्ध रहेको धारणा राखे । यसलाई पूर्ण रुपमा लागु गराउन विभाग र सरकारसँग मिलेर अघि बढ्न आफूहरु हरदम तयार रहेको उनले जनाए । उनले भने “सहकारीहरु संस्थाहरुको हकमा सम्पत्ति शुद्धिकरण लागु गर्नका लागि गर्नुपर्ने दुईवटा क्रियाकलाप छन् । पहिलो, आफ्ना सदस्यहरुको अद्यावधिक विवरण राख्ने । दोश्रो, सूचक संस्थाको रुपमा बचतकर्ताको श्रोत शंकास्पद लागे सम्बन्धित निकायलाई सूचित गर्ने ।”
नेपाल बचत तथा ऋण सहकारी संघ, नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सम्पत्ति शुद्धिकरणमा आफूहरुको कुनै सैद्धान्तिक मतभेद नभएको बताए । प्रारम्भिक संस्थाहरुमा आवश्यक मात्रमा जागरण नपुगेको अनुभव आफूहरुको रहेको उनले जनाए । सीमा कारोबार, शंकास्पद कारोबार, भर्नुपर्ने विवरणहरुबारे संस्थाहरुमा अन्यौल रहेकोले त्यसलाई स्पष्ट पार्न तल्लो तहसम्म प्रशिक्षित गराउन आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवं काठमाण्डौ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सम्पत्ति शुद्धिकरणको कार्यान्वयनका लागि आफूहरुले मातहतका संस्थाहरुलाई सकेसम्म प्रशिक्षित गर्ने बताए ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार २०:२९