काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत मुल्यबृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत मुल्यबृद्धि



काठमाडौं। सरकारले अर्थतन्त्रका सूचक सकारात्मक रहेको तथ्यांक सार्वजनिक गरिरहेका बेला बजारमा महंगी बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुल्यवृद्धि दर ६ प्रतिशत भित्र राख्ने लक्ष्य राखे पनि लगातार यसभन्दा माथि रहँदै आएको छ। चालु आर्थिक वर्षमा कात्तिक महिनामा मात्र मुल्यवृद्धि सरकारको लक्ष्य भित्रै रहेको थियो। त्यसबाहेकका महिनामा मूल्यवृद्धि लक्ष्यभन्दा माथि रहँदै आएको छ। राष्ट्र बैंकले मूल्य वृद्धिलाई सीमाभित्र राख्न नसकेपछि बजारमा महंगी बढेको छ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांक अनुसार मुल्यवृद्धि ६.८२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुल्यबृद्धि ४.५८ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुल्यबृद्धि बढेर १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुल्यबृद्धि ४.२५ प्रतिशत भएकोले मुल्यबृद्धिमा केही चाप परेको हो।

चालु आर्थिक बर्षको ६ महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुल्यबृद्धि रहेको छ। गत बर्षको सोही अवधिमा यस्तो मुल्यबृद्धि यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

पुस महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उप समूहको मूल्य समेत बढेको छ।

२०७६ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ।

यसैगरी पुसमामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजिगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२० प्रतिशत, ७.५८ प्रतिशत र २.५० प्रतिशत रहेको छ। यस महिनामा निर्माण सामग्रीको थोक मूल्य ५.०६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार २०:५९