उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा ढकालकाे उम्मेदवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा ढकालकाे उम्मेदवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको  वरिष्ठ उपाध्यक्ष पदका लागि उद्योगी चन्द्रप्रसाद ढकालले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीको होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणाा गरेका हुन् ।  विभिन्न क्षेत्रका उद्यमी-व्यवसायीहरूका नेतृत्वले आफूलाई उम्मेदवारी दिन आग्रहकै कारण आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ थियो ।

घोषणा सभामा उनले आफ्ना व्यवासायिक जीवनका पाटाहरू उल्लेख गर्दै  महासंघलाई बलियो बनाएर लैजान आफ्ना कार्ययोजनाहरू पनि सुनाए ।

उनले मुलुकमा भित्रने रेमिट्यान्सले घरेलु उद्योगदेखि साना व्यापार  विस्तार भएको प्रसंग सुनाउँदै यस्ता साना उद्यम-व्यापारलाई  मझाैला उद्योग व्यापारमा परिणत गर्न, मझाैला उद्योगलाई ठूला उद्योगमा परिणत गर्न र ठूला व्यापारलाई बहुराष्ट्रिय बनाउन सके त्यसले समग्र देशको समुन्नति हुने धारणा राखे ।

उद्योग र व्यापारमा संलग्न व्यक्तिहरूलाई प्रोत्साहित गर्न, उद्यमीहरूलाई आशावादी बनाउन, उद्यमी-व्यवसायीका समस्याहरू सुल्झाउन र यस्ता मुद्दा सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता उनले गरे ।

ढकालको उम्मेवारी घोषणा सभामा महासंघका पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमितिका पदाधिकारी, प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला-नगर, वस्तुगतका अध्यक्षसहित उद्योगी व्यवासायीहरू सहभागी थिए ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य हुँदै हाल उपाध्यक्ष रहेका छन् । गत अधिवेशनमा  ढकाल एसोसिएटबाट सर्वसम्मत उपाध्यक्ष चयन भएका थिए ।

ढकालले गत पुसमा बागलुङबाट महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । यसअघि अर्का उपाध्यक्ष किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

आगामी चैत २८ र २९ गते ५४औं वार्षिक  साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा निर्विरोध अध्यक्ष बन्नेछन् भने, वरिष्ठ उपाध्यक्षका लागि  ढकाल र  प्रधानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार १८:३८