३८ लाख ग्राहकलाई विद्युत् महसुल २० प्रतिशत छुट: राज्यलाई ५० करोड नोक्सान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

३८ लाख ग्राहकलाई विद्युत् महसुल २० प्रतिशत छुट: राज्यलाई ५० करोड नोक्सान




काठमाडौं । कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ ।

सोही क्रममा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत दिने लक्ष्यका साथ एउटा महत्वपूर्ण निर्णय गरेको छ ।

मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई महसुल छुट दिने निर्णय गरेको हो ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले महसुल छूट दिने निर्णय गरेको हो । मन्त्री पुनका अनुसार चैत महीनाका लागि कुल १५० युनिटसम्म विद्युत् प्रयोगमा २० प्रतिशत महसुल छूट दिने निर्णय भएको हो ।

प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद्समक्ष महसुल छूटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारद्वारा घोषित लक डाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई दृष्टिगत गर्दै ग्राहकलाई राहत दिने लक्ष्यका साथ उक्त निर्णय भएको हो ।

गत बुधवार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिले विद्युत् महसुल छुट दिने र इन्डक्शन चुल्हो प्रयोगका लागि नागरिकलाई प्रोत्साहित गर्ने निर्णय गरेको थियो ।

सो निर्णयले एलपी ग्यास विस्थापन गरी इन्डक्शन चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्नेछ । ऊर्जा मन्त्री पुनका अनुसार विद्युतीय उपकरणको प्रयोग तथा एलपी ग्यासको विस्थापनका लागि शुक्रवार गरिएको निर्णयले विशेष सहयोग पुग्नेछ ।

लक डाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट दिइएको मन्त्री पुनको भनाइ छ । उनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने बताए ।

प्राधिकरणका कुल ३८ लाख ग्राहकलाई १५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महीनामा सरकारी राजस्वमा रू. ५० करोड नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट रू. ३० अर्ब उठेको थियो ।

नेपालमा मासिक १५० युनिटसम्म विद्युत् खपत गर्नेको संख्या अधिक छ । कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएको प्राधिकरणको भनाइ छ । लक डाउनका कारण विद्युत् खपतमा भारी गिरावट आएको छ ।

विद्युत बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, व्यापारिक प्रतिष्ठान, होटल, सिनेमा घर, कार्यालय बन्द भएकाले त्यस्तो अवस्था आएको हो ।

प्रकाशित : १५ चैत्र २०७६, शनिबार १६:२९