एक गाविस सचिब: जसले जागीरे जीवनमा २६ करोड कमाए, १७ करोडभन्दा बढी भ्रष्टाचार गरे ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

एक गाविस सचिब: जसले जागीरे जीवनमा २६ करोड कमाए, १७ करोडभन्दा बढी भ्रष्टाचार गरे !



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना गाविस सचिवले १७ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।

स्याङ्जाबाट गाविस सचिवमा जागिर शुरु गरेका ऋषिराम अर्यालले ३७ वर्षे जागीरे जीवनमा २६ करोड कमाई गरेको र त्यसमध्ये १७ करोड ८३ लाख रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको हो ।

आयोगले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

२०३९ साल साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा नियुक्ति लिई ३७ वर्ष सेवा गरेका अर्यालले २०७६ असार मसान्तसम्म काम गर्दा २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको कारोबार गरेको देखिएको अख्तियाले जनाएको छ ।

उनको सम्पत्ति मध्ये ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रुपैयाँ मात्रै वैद्य ढंगबाट आर्जन भएको निष्कर्ष अख्तियारको छ । अकूत सम्पत्ति आर्जनमा आरोपित अर्यालले काठमाडौँको धापासी, टोखा सरस्वती र भीमढुङ्गा गाविस तथा टोखा नगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

अर्यालले जुन स्थानमा गयो, त्यहीँ जग्गाजमिन र घर जोड्ने गरेको भन्दै अख्तियारले भ्रष्टाचार गरी कमाएको अकूत सम्पत्ति श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशील अर्याल र सुनिल अर्यालको नाममा राखिएको पाइएको जनाएको छ । विभिन्न स्थानमा घरजग्गा, शेयर खरिद गरी अर्यालले श्रीमती र छोराहरुको नाममा राखेको र कागज उद्योगसमेत सञ्चालन गरेको अख्तियारले उल्लेख गरेको छ ।

आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारमार्फत् अकूत सम्पत्ति कमाएको भन्दै अख्तियारले पूर्व गाविस सचिव ऋषिराम अर्यालविरुद्ध विशेष अदालत काठमाडौंमा १७ करोड ८३ लाख रुपैयाँ बिगो र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो ।

अर्याललाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख। बमोजिम अकुत सम्पत्ति जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन माग गरिएको छ ।

अर्यालसँगै निज ऋषिराम अर्यालकी श्रीमती लक्ष्मीदेवी र छोराहरु सुशील तथा सुनिलसमेतलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार २०:३४