विश्वको उड्डयन क्षेत्रमा चर्को आर्थिक संकट, ९५ प्रतिशत विमानहरु ग्राउन्डेड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

विश्वको उड्डयन क्षेत्रमा चर्को आर्थिक संकट, ९५ प्रतिशत विमानहरु ग्राउन्डेड



काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो । यसको असर नेपाली हवाइ उड्डयन क्षेत्रमा नराम्ररी परेको छ । अर्बौंको क्षति भएको छ ।

नेपालमा मात्र नभइ विश्वभर मानवीय क्षतिमात्र नभइ आर्थिकरुपमा समेत ठूलो क्षति पुर्‍याएको छ । विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्सा प्रभावित छन् । अहिले हवाई क्षेत्र प्रभावित हुँदा विश्वको उड्डयन क्षेत्र चर्को आर्थिक संकटमा धकेलिएको छ ।

कोरोना महामारीले हवाई उड्डयनको क्षेत्रलाई पाँच महिनाको अवधिमै तहसनहस बनाइदिएको छ । अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेका विमान कम्पनीहरु नराम्ररी थलिएका छन् ।

अधिकांश राष्ट्रहरुले ‘लकडाउन’को घोषणा गरेपछि कति विमान कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् भने कतिपय बन्द भइसकेका छन् ।

हवाई क्षेत्रहरुमा काम गर्ने लाखौं मानिसको जागिर जोखिममा परेको छ । विगतको सामान्य अवस्थामा प्रत्येक क्षण विश्वभर एकै समय २० हजार उडान हुने गरेको थियो । ९० लाखभन्दा बढी यात्रीले यात्रा गर्थे ।

तर, कोरोना महामारीका कारण मानिसको आवत–जावत रोकिएको छ । हजारौं विमानहरु अहिले ‘ग्राउन्डेड’ छन् । विश्वकै इतिहासमा पहिलोपटक ९५ प्रतिशत विमानहरु ग्राउन्डेड भएका छन् । ७० प्रतिशत विमानहरु अहिले पार्किङमा छन् ।

सधैं व्यस्त रहने विमानस्थलहरु सुनसानजस्तै बनेका छन् । आईएजी, युनाइटेड अमेरिकन एअरलाइन्स, एमिरेट्स लुफ्तान्सा, थाई मौरिसस्जस्ता हवाई कम्पनीलाई लकडाउनले निकै असर पुर्‍याएको छ ।

हजारौं विमानले उडान र अवतरण भर्दै आएको विमानस्थलमा विमानहरु पार्किङमा छन् । लामो समयसम्म पार्किङ गरिएको खन्डमा विमानको इन्जिनमा खराबी आउनसक्ने चुनौती पनि उत्तिकै छ ।

विश्व अर्थतन्त्रमा १०.३ प्रतिशत योगदान दिने हवाई क्षेत्रमा परेको आर्थिक मन्दीको संकटमा विश्वको अर्थतन्त्र नै खस्केको छ । हवाई क्षेत्रले सन् २०१९ को तुलनामा युरोपियन एअरलाइन्सहरुले मात्र २०२० मा ५५ प्रतिशतले घाटा व्यहोरेको तथ्यांक छ ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहीबार १८:५९