आर्थिक सर्वेक्षण सार्वजनिक, ‘आर्थिक वृद्धि २.३ प्रतिशत’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

आर्थिक सर्वेक्षण सार्वजनिक, ‘आर्थिक वृद्धि २.३ प्रतिशत’




काठमाडौं । चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने सरकारले अनुमान गरेको छ । सरकारले बजेटमा साढे ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले चालू आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् ।

फागुनसम्म समग्र आर्थिक क्रियाकलापमा तीव्रता आएको तर ‘कोभिड–१९’ ले विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित हुँदै जाँदा आर्थिक विकास र स्थायित्वका परिसूचकहरुमा चाप पर्दै गएको उनको भनाइ छ ।

यस अवधिसम्म मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्वअनुकूल हुँदै गएको तथ्यांक उनले प्रस्तुत गरे ।

यस अवधिसम्म मूल्यवृद्धि ६।५ प्रतिशतमा सीमित रहेको, कुल सरकारी खर्च गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले बढेर छ खर्ब १० अर्ब पुगेको उनले जानकारी गराए ।

यसमध्ये चालू खर्च चार खर्ब ५० अर्ब र पुँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्थापनतर्फ ६३ अर्ब ४२ करोड खर्च भएको जनाइएको छ ।

संघीय सरकारको राजश्व अघिल्लो वर्षको यसै अवधिको तुलनामा ९.६ प्रतिशतले वृद्धि भइ चार खर्ब ७९ अर्ब पुगेको छ ।

फागनु मसान्तसम्म निर्यात २२ प्रतिशतले बढेर ७४ अर्ब ९१ करोड पुगेको र आयात २।६ प्रतिशतले घटेर नौ खर्ब २४ अर्ब रहँदा व्यापार घाटा ४।३ प्रतिशत संकुचन भएको अर्थमन्त्रीले जानकारी गराए ।

अघिल्लो वर्षको फागुनसम्म ५८ अर्ब ९६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति ०७६ फागनुसम्म आइपुग्दा ३७ अर्ब ८४ करोडले बचतमा रहेको छ ।

फागुनसम्म विप्रेशष आप्रवाह १.८ प्रतिशतले वृद्धि भएर पाँच खर्ब ९२ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष २३।४ प्रतिशतले बढेको थियो ।

वित्तीय पहुँच अभिवृद्धि हुनुका साथै वित्तीय कारोबारमा पनि उल्लेख्य विस्तार भएको उनले उल्लेख गरे ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक लाख २६ हजार अर्थात् एक हजार ८५ अमेरिकी डलर रहेको उनले जानकारी गराए ।

यस अवधिसम्म पर्यटक आगमनमा वृद्धि भएको, कुल जनसंख्याको ९० प्रतिशतमा विद्युतको पहुँच पुगेको, प्रतिव्यक्ति विद्युत् खपतदर बढेको र विद्युत् उत्पादन वृद्धि भइ कुल जडित क्षमता १३ सय ५५ मेगावाट पुगेको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यस अवधिसम्म मुलुकभर संघीय सरकारबाट ३४ हजार ३४७ किलोमिटर र प्रदेश र स्थानीय तहबाट ६१ हजार ३४२ किलोमिटर सडक निर्माण भएको पनि सरकारले जनाएको छ । विगत वर्षका तुलनामा तहगतरुपमा विद्यार्थी भर्नादरमा सुधार भएको पनि जनाइएको छ ।

फागुनसम्म ५५ जिल्लाका ५०५ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार हुँदा २६ लाख ८७ हजार बिमीत भएका छन् । यसरी करिब २५ प्रतिशत गरिब र तीन लाख ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य बिमा प्राप्त गरेको अर्थमन्त्री खतिवडाले जानकारी गराए ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलवार १७:५६