संकटका सारथीः सहकारीका कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

संकटका सारथीः सहकारीका कर्मचारी



काठमाडौ । कोरोना भाइरस संक्रमण (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण काठमाडांैमा सञ्चालित सहकारीहरु समेत प्रभावित बने । सहकारीका सञ्चालक र सदस्यहरु बिच पुलको काम गर्दै आएका कर्मचारीहरुलाई समेत यो महामारीका कारण प्रभावित रहे र अपेक्षा अनुरुप सेवा दिन सकेनन् ।


काठमाडौमा सञ्चालित सहकारी संस्थाहरुमा सञ्चालक भन्दा पनि कर्मचारीकै बिश्वास, आड र भरोषामा बचत र ऋणको काम गर्ने सदस्यहरुको जमात बढी छ भन्दा दुई मत नहोला । एकातिर सरकारले समस्याको बेलामा सहकारीलाई सामान्य सुविधा नदिनु र बैंकहरुले सेवा दिन बन्द गर्दाको समयमा सहकारीहरुलाई आफ्नो साखः जोगाउन निकै चुनौतीको सामना गर्नु परेको तितो अनुभव सुनाउने गर्छन ।

तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारीका कर्मचारी


कोभिड १९को महामारी डर र अर्को तर्फ सदस्यहरुलाई सेवा दिनै पर्ने सहकारीहरुको बाध्यात्मक अवस्थाका बिच पनि सहकारीमा कार्यरत कर्मचारीहरुले घर दैलो सेवादेखि राहतका कार्यलाई विभिन्न आरोह अवरोह पार गर्दै उदाहरणीय काम गरेका छन् । बचत लिन र ऋण परिचालन मात्रै गर्ने आरोप खेपेका काठमाडौका सहकारीले यो पटक आफ्नो क्षमताले भ्याए सम्म कर्मचारीलाई विभिन्न सेवा सुविधा दिएर भए पनि समुदायमा आफुलाई खरो रुपमा उभ्याउन भ्याए ।


कोभिड १९को त्रास बढ्दै जाँदा केही सहकारीले संक्रमणको जोखिममा सुरक्षा अप्नाउन थालेका थिए भने केहीलाई सेवा कसरी दिने भन्ने चिन्ताले गाँज्न थाल्यो । नभन्दै सरकारले चैत ११ देखि बन्दा बन्दी (लकडाउन) घोषणा गर्यो । मुलुकका ठूला भनेका बैंक तथा वित्तिय संस्थाहरु बन्द भए उनिहरुले दिने एटिएम सेवा र विभिन्न अनलाइन सेवाहरु समेत त्यती प्रभावकारी रुपमा सञ्चालन हुन सकेन । अर्थात समान्य नागरिकको पहुँचमा त्यसले काम गरेन । बैंक नखुल्दा पछिको अप्ठ्यारोको साथी बन्न पुगे सहकारीहरु । सहकारीमा सदस्य बनेर थोर बहुत कारोबार गर्दै आएकाले पनि नियमित गर्जो टार्न मुस्किल भएको अवस्थामा बचत ऋण सहकारी र बहुउद्देश्यीय सहकारीकै भर पर्न थाले । यसको दबाब सम्पूर्ण सहकारीलाई पर्न गयो । महामारी कै समयमा भए पनि सहकारीले आफ्ना कार्यलय खोलेर होस वा सम्पर्क ब्यक्ती तोकेर भए पनि सेवालाई चुस्त बनाए ।

बैंकहरुले सेवा बन्द गरेपछि धेरै सदस्यहरु हामी तिर सोझिए, सितापाइला बहुउद्देश्यीय सहकारीका कार्यकारी अध्यक्ष केदार मानन्धर भन्छन–“सदस्यको मागलाई ध्यान दिदै २० हजारसम्म रकम झिक्ने ब्यवस्था गर्यौँ । यसका लागि मूख्य चुनौती भनेको कर्मचारीलाई कसरी परिचालन गर्ने भन्ने नै थियो, मानन्धरले भने । केही कर्मचारीलाई घर बिदामा राख्यौ त केहीलाई संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराएर फिल्डमा नै खटायौँ ।”

सितापाइला बहुउद्देश्यीय सहकारीले आफ्नो कार्यक्षेत्र भित्र रहेका नगरपालिका संगको नियमित सहकार्यमा रहेर ११ स्थानमा कर्मचारी खटाएर सेवा दियो । संक्रमणको अवस्थामा काम गर्ने कर्मचारीलाई मुल सम्पती मानेर नै कार्य क्षेत्रमा खटाएको मानन्धरले बताए । कार्य क्षेत्रमा खटिने कर्मचारीलाई थप सेवा र घर बिदामा रहेका कर्मचारीलाई नियमित सुविधा कटाएर चोखो तलब दिएर पालैपालो कर्मचारी परिचालन गरेको अध्यक्ष मानन्धर बताउछन ।
उक्त सहकारीले लकडाउनको अवधीमा सदस्यहरुको खेतबारीमा पुगेर सदस्यहरुकै अत्यावश्यक सवारी साधन प्रयोग गरेर तरकारी तथा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई घर घर सम्म पुर्याउन र विक्रि बितरण गर्न सहजकर्ताको भूमिका समेत पुर्याउने कार्यलाई अगाडी बढाउन अग्रसर भएको थियो । त्यस्तै लकडाउन भर खाद्यान्नको अभावले खान नपाएकाहरुलाई राहत वितरणमा समेत सहज कर्ताको भूमिकामा सहकारीलाई परिचालन गरिएको मानन्धरले जानकारी दिए ।


बत्तिसपुतलीमा मुख्य कार्यलय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले पनि अवस्थालाई ध्यानमा राखेर विभिन्न तरिकाबाट कर्मचारी परिचालन गरेको जनाएको छ । राज्यका निकाय र नियामक निकायले हामीलाई पास समेत उपलब्ध नगराएको अवस्थामा समेत सदस्यको सेवामा तल्लिन भयौँ, प्रबन्धक हरि प्रसाद पाण्डेले भने – “सदस्यलाई आबश्यक परेको बेला नजिक रहने कर्मचारीलाई परिचालन गरेर सेवा दिइएको उनले बताए । हामीले यो समय सदस्यको सेवामा खटिने कर्मचारीलाई केन्द्रिमा राखेर काम गरेका छौँ ।”

सदस्यलाई सेवा दिँदै सितापाइला सहकारीका कर्मचारीहरु


संस्थाले खटाएको ठाउँमा काम गर्नेलाई संस्थालाई समस्या नपर्ने हिसाबले सुविधा दिएर परिचालन गरिएको पाण्डेले जानकारी दिए । अहिले पनि जोरबिजोरको समस्या छ, पाण्डे भन्छन् – छोटो समय कार्यलय खोल्दा सेवा दिन कठिन हुने, भिड बढ्ने र संक्रमणको जोखिम पनि हुने भएकाले साबधानी अप्नाएर १० बजे देखि बेलुका ५ बजे सम्म कार्यलय संचालन गरिएको छ । संस्थामा कार्यरत कर्मचारीको कोरोना बिमा र फ्रन्टमा बसेर काम गर्नेलाई आबश्यक सुरक्षा समाग्रीको ब्यवस्था गरिको उनले सुनाए ।

त्यस्तै काठमाडौकै एक अब्बल मानिएको चन्द्रागिरि बचत तथा ऋण सहकारीले कार्य क्षेत्रमा खटिने कर्मचारीलाई डबल सुविधा दिएर परिचालन गरेको संस्थाका प्रबन्धक कृष्ण श्रेष्ठले जानकारी दिए । सुरुवातमा हामीले सम्पर्क व्यक्ती तोकेर सेवालाई अगाडी बढायौँ । हामीले लकडाउनको समयमा बिभिन्न हिसाबले सदस्य सम्म हाम्रा कर्मचारीलाई पुर्याउनको लागि सेवा ब्यबस्थापन नीति मार्फत परिचालन गरेका थियो । घर दैलो सेवा, अनलाइन सेवा र अन्य कार्यहरुमा कर्मचारीहरुलाई परिचालन बिभिन्न समुह बनाए र कुनै समस्या आए त्यसलाई प्रभावकारी सहयोग गर्ने र काम गर्न सक्ने कर्मचारीहरुलाई परिचालन गर्यौँ ।

लकडाउनको समयमा पूर्ण सुरक्षा विधि अपनाउँदै, सदस्यलाई सेवा दिँदै चन्द्रागिरी साकोस । फोटो :कृष्ण श्रेष्ठको फेसबुक वालबाट


लकडाउनको अबधीमा कहिले अंशिक कार्यलय खोलेर होस वा ठाउँ ठाउँमा सम्पर्क व्यक्ती तोकेर र हाल सम्म आउदा पुर्णकालिन रुपमा कार्यलय सञ्चालन गरेको श्रेष्ठले जानकारी दिए ।
पुरानोसिनामंगलमा रहेको पाँचतारा बचत तथा ऋण सहकारीका अध्यक्ष भोला पाठक भन्छन–“संस्था सञ्चालनमा सञ्चालक भन्दा पनि कर्मचारीको भूमिका महत्वपुर्ण रहयो । कर्मचारीहरुले काममा देखाएको तत्परताका कारण संकटमा सदस्यलाई सेवा दिएर विश्वास कायम राख्न सफल भएको अनुभुती भएको छ ।” हामीले लकडाउन सुरु भएको एक साता सम्म अब कसरी अगाडी बढ्ने भन्ने योजना बनाउदैमा बित्यो । सेवालाई निरन्तरता दिने हिसाबले कर्मचारीलाई सुरक्षाका सबै साबधानी अप्नायौ र सबै कर्मचारीको कोरोना बीमा र थप सुविधा दियौँ । र संकटको समयमा काम गर्ने निश्र्कशमा पुग्यौँ । यसले कर्मचारीलाई काम गर्ने मनोबल समेत उच्च बनाउन मद्दत गर्यो । हाम्रो कार्य क्षेत्र भित्र रहेका अन्य सहकारीले सेवा बन्द गरेको अवस्थामा हामीले सेवा दिने सहास गरेका थियौँ ।

जिल्ला सहकारी संघ काठमाडौले पनि अहिले सदस्यको सेवामा खटिने सहकारीका कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आग्रह गरेको बताएको छ । संघका अध्यक्ष ज्ञानबहादुर तामाङ भन्छन– “फिल्डमा खटिने कर्मचारीलाई सेवा सुविधा र नसके खाइपाई आएको तलब नघटाई उपलब्ध गराउन आवश्यक निर्देशन गरेका छौँ ।” ब्यवस्थापनमा कुनै समस्या भए नेफ्स्कून, सहकारी बैंक, जिल्ला संघ वा आफ्ना अविभावक संघसंग सम्पर्क गर्न भनेको उनले जानकारी दिए ।

संकटको बेलामा अनावश्यक कर्मचारी कटौती नगर्न र तबल कटौती समेत नगर्न आफु मातहतका संस्थालाई संघले आग्रह गरेको अध्यक्ष तामाङले बताए । संघले अहिले काठमाडौमा संचालित सहकारीहरुमा काम गर्ने कर्मचारीहरुको एकिन तथ्याङक संकलन गर्ने कार्य समेत अगाडी बढाउने तयारीमा रहेको बताए । हाल काठमाडौमा करिब चार हजार सहकारी दर्ता रहेका छन् । ति मध्ये जिल्ला संघमा आवद्ध सहकारीहरु दुइहजार भन्दा बढी रहेको छ ।

प्रकाशित : १० असार २०७७, बुधबार ०९:१२