राष्ट्रिय आयोजना नरोक्न पूर्व अर्थमन्त्रीहरुको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय आयोजना नरोक्न पूर्व अर्थमन्त्रीहरुको आग्रह



काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले भूकम्पका कारण अर्थतन्त्रका ठुला र साना कुनै पनि योजनाहरु नरोक्न आग्रह गरेका छन् । उनीहरुले भूकम्प गयो भनेर विभिन्न राष्ट्रिय लगानीका पूर्वाधारहरुलाई रोक्न नहुने भन्दै ठुला र साना सबै आयोजनाहरुलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

साथै यस्तो अबस्थामा सबै निकाय र क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न राज्यसमक्ष आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘भूकम्प पछि अर्थतन्त्रका नयाँ रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले आर्थिक गतिविधि र आगामी वजेटमा संकिर्णता त्याग्न सरकारलाई सुझाव दिए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले स्वदेशी पुँजी परिचालन गर्न नसकेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले दाता सम्मेलन भन्दा पनि सरकारले दिर्घकालीन, मजवुत र आर्थिक चलायमानपूर्ण योजनाहरु अघि सार्नुपर्ने आवश्यकता औल्याए ।

साथै सहयोग गर्न चाहने राष्ट्रलाई राष्ट्रिय योजना तर्जुमा गरेर सरकारले सोही अनुसार साथमा लिनुपर्नेमा जोड दिए । सो अवसरमा शंकरप्रसाद कोइरालाले विपतका बेला बजेटमा सिमा तोकेर अघि बढ्न नहुने बताए । ‘यस्तो असामान्य अबस्थामा बजेटमा संकिर्ण ढंगले सिमा तोक्ने फर्मुला ल्याउन हुँदैन’ उनले भने  ‘भूकम्पका कारण राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई असर पर्ने किसमिका योजना पनि ल्याउनु हुँदैन’ ।
कोइरालाले सडक संजाल, पर्यटन, कृषि, शिक्षा र विद्युतमा दोव्वर बजेट आबश्यक रहेको बताए । साथै साधारण अवस्थामा जस्तो सामान्य बजेट आउन नहुँने र जति सकिन्छ धेरै र खुल्ला आकारको बजेट ल्याउनु उपयूक्त हुने उल्लेख गरे । भूकम्पले शिक्षा र पर्यटनमा ठुलो असर गरेको उल्लेख गर्दै उनले त्यसतर्फ बढी ध्यानन दिनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा पूर्र्व अर्थ राज्यमन्त्री हरी खेवा लिम्बुले कमजोर अबस्थामा रहेको देशको आर्थिक अवस्थालाई उठाउन कृषिमा बढी फोकस हुनुपर्ने बताए । उनले भूकम्पबाट धेरै कृषकहरु पीडीत भएको बताउँदै कृषकलाई आबश्यक पर्ने विउ, प्रविधि, उन्नत जातको पशु पालनतर्फ राज्यले सहुलियत प्रवाह गर्नुपर्ने भन्दै अन्यथा भूकम्पपीडीतहरु मागेर खाने अबस्थामा आउन सक्ने तर्फ सचेत गराए ।

प्रकाशित : १८ जेष्ठ २०७२, सोमबार ११:३३