सनराइज बैंककी महिला कर्मचारीले गरिन् विष सेवन, ‘सुसाइड नोट’मा यस्तो छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंककी महिला कर्मचारीले गरिन् विष सेवन, ‘सुसाइड नोट’मा यस्तो छ



विराटनगर । ‘सुसाइड नोट’ लेखेर विषादी सेवनी गरेकी सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारीको बुधबार दिउँसो मृत्यु भएको छ । मुसा मार्ने प्रयोग गरिने विषादी सेवन गरेकी वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडाको मृत्यु हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विष सेवन गरेर घाइते अवस्थामा भेटिएकी उनको उपचारका क्रममा दिउँसो १२ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

बैंकको कार्यालयको शौचालयभित्रै उनलाई अचेत अवस्थामा फेला पारेर उपचारका लागि लगिएको थियो । घटनास्थलमा विषादीको बट्टा र ब्लेड पनि भेटिएको छ । उनले ब्लेडले आफ्नो बायाँ हात पनि काटेको पाइएको डीएसपी राईले बताए । ब्लेडले हात काटेपछि कार्यालयमा रहेको मुसा मार्ने औषधि सेवन गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

ब्लेडले हात काट्नु र विषादी सेवन गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको राईले बताए । मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको नोटमा उल्लेख गरेको जानकारी राईले दिए ।

युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको परिवारका सदस्यले बताएका छन् । सातादिन अघि पनि युवतीले आत्महत्याको प्रयास गरेको जानकारी परिवारले प्रहरीलाई दिएको डीएसपी राईको भनाइ छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको बाँकी अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।पुर्वेलीन्यूजबाट

प्रकाशित : २१ श्रावण २०७७, बुधबार २१:५४