‘चानचुन पैसा’ को ताकत र फस्टाएको लूट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विचार

‘चानचुन पैसा’ को ताकत र फस्टाएको लूट



खुजुरा अर्थात चानचुन नोट (पैसा) तपाईको खल्तीमा कति रुपैंयाँका नोट छन ? पक्कै पनि पाँच, दश, बिस, पचास र सय । यति भन्दा साना पैसा तपाईको खल्तीमा हुँदै हुँदैनन् । हजार पाँच सयका नोट भएनन भने त खल्लो नै हुन्छ,हैन त ? हो ,एक पैसा, पच्चिस पैसा, पचास पैसा, रु एक र रु दुईका सिक्का वा नोट देख्ने र प्रयोगमा ल्याउन अबको पुस्तालाई ‘एकादेशको कथा’ जस्तै भएको छ ।


चानचुन नोट (पैसा) तपाई हामीसंग दुर्लभ नै भएको छ । वास्तवमा अहिले आम मानिसको दैनिकी बनेको छ– मास्क, सेनिटाइजर र चानचुन नोट ।

कारण कोरोनाको संक्रमणको डर बिशेष गरि सार्वजनिक स्थानमा पुग्दा यी तीन कुरा अनिवार्य बनेका छन् । तर समस्या चानचुनले लिनेलाई भन्दा दिनेलाई बढी पिरोल्न थालेको छ ।

साउन २२ गते बिजुलीबजारबाट पेप्सीकोला जान कलंकी रत्तनपार्क हुँदै काँडाघारी सम्मपुग्ने अन्नपुर्ण यातायातमा सवार थिए म ।

बानेश्वरसम्म आउँदा यात्रुहरु भौतिक दुरी कायम हुँने गरि नै सवार थिए । एक दुई सिट अझै खाली नै थिए । बानेश्वर चोकमा रोकेर सवारीसाधनका सह–चालक कराउन थाले– कोटेश्वर, जडीबुटी, टाउन प्लानिङ् , काँडाघारी… ।

गाडीका सिट नियम अनुसार भरिए । गाडी शान्तिनगरतिर हुइँकियो । सहचालक सोही अनुसार कराउँदै गए कोटेश्वर‍…। दाहिने पट्टिको एउटा सिटमा बसेका करिब ३० बर्षका एक युवकले सहचालकलाई भने गाडी नियम अनुसार भरियो–‘कहाँ हाल्ने अब ?’ सह चालक केटो च्याँठियो–‘जहाँ राखौ तँलाई के चासो ?’ एक यात्रु शान्तिनगर ओर्लने रहेछन् । २० रुपैंयाँको नोट देखाउदै ओर्लने स्थान बताए ।

सहचालक बोल्यो– ‘गाडी आज मात्रै चढ्या हो ?’, पाँच रुपैयाँ पुगेन । ति यात्रुले माइतिघरबाट गाडी चढेको बताए । तर सहचालकले मानेन र भन्यो–खुट्टो हालेकै पचिस हो । पच्चिस रुपैयाँमा किचकिच गर्नेले के गाडी चढेको ? ति यात्रुले चुपचाप पाँचको नोट दिएर झरे ।

ती ३० बर्षे युवक बोल्न थाले । भाडा मनलाग्दी भयो नि ।

‘कसरी भयो ? हावा कुरा गर्ने ?’ सहचालकले प्रतिप्रश्न गरे ।

युवकले प्रश्न गरे– कहाँबाट आएको त्यही अनुसारको भाडा लिए हुन्न र ?

सहचालकले भन्यो– भाडा लिन तपाईसंग सोध्नुपर्ने मैंले ?

युवकले नम्र हुँदै भने–हैन भाइ नियम अनुसार लिउ न भै हाल्यो खासमा नियम अनुसार गाडी भाडा त ५० प्रतिशत त बढ्या हो नि । त्यही अनुसार लिन मिल्दैन र भन्या ।


सहचालक जङ्गिए– कोरोना अघि चढ्ने वित्तिकै १५ रुपैयाँ लिएको हो । अहिले ५० प्रतिशत बढ्दा २२ रुपैयाँ ५ पैसा हुन्छ । २५ रुपैयाँ लिदा तँलाई टाउको किन दुख्या ? त्यो बेला नि १३ रुपैयाँ भाडा थियो १५ लिएको नि केही भन्नु छ ?

ती युवकको कुरामा हो मा हो मिलाउन केही यात्रु अघि बढ्दै थिए ।

अगाडीबाट गुरुजी कराए–को हो निहुँ खोज्ने ? लागेको भाडा तिर्न मन नभए किन चढ्या ? झरे हुन्छ, भन्दै जडिबुटीमा गाडी रोके । अरु चुप बसे ।

युवक आफ्नै तालमा बोल्दै गए । नियम अनुसारको भाडामा हकदाबी गर्दा पनि अपराधीको व्यवहार गर्छन् । लुट्न राज्यले नै छुट दिएको छ । ड्राइभर र खलासीसंग बहस गरेर मुख मात्रै रातो कति बनाउनु ।

उनी आफ्नै सुरमा बोल्दै गए, सहचालक खाउँला झैं हेरि नै रहयो ति युवकलाई ।

पेप्सीकोला आइपुग्यो । म चपचाप उत्रें । बिस रुपैंयाँ दिएँ । पाँच माग्यो । पाँच रुपैयाँ नि दिएँ । अनि सोच्दै पाइला अघि बढाएँ–चानचुने पैसा आजकल कता हरायो ? गाडीमा यात्रा गर्दा चानचुन नभएको नाममा म बाट कति लुटियो, लुटियो ।

यसो भनेर दाबी गर्दा साँच्ची चिल्लर अर्थात चानचुन हिसाब गरम त जिवन भरको कमाई कति हुदो रहेछ ? यस्तै सोच्दै छु म ।

हरेक समानको भाउ बढ्दा यति रुपैयाँ यति पैसा बढ्यो भनिन्छ । तर लिने त चनचुन मिलाएर नै हो । गाडीको भाडा जस्तै ५० प्रतिशत बढ्दा २२ रुपैयाँ ५ पैसा हुन्छ । लिनेचाहीं २५ रुपैयाँ । यस्तो चानचुन कति ठाउँमा छोड्नु परेको छ । गाडी भाडा एउटा उदाहरण मात्रै हो ।

आयल निगमले तेलको भाउ बढाउँछ लिटरको एकसय दुई रुपैयाँ पच्चिस पैसा । लिने बेलामा पुर्याएर पाँच रुपैयाँ । भाटभटेनीमा सामान किन्यो यति रुपैयाँ यति पैसा तर लिने, पाँच रुपैयाँ पुर्याएर नै हो । नत्र चानचुनको त हिसाब नै हुन्न । चानचुन फिर्ताका नाममा खुद्रे देखि होलसेल पसलले दिने भन्या चकलेट हो । कि सिक्काको ठाउमा राष्ट्र बैंकले चकलेट छाप्या हो ?

कुनै बेला चिया गफ हुँदा साथीभाईले सुनाएको कुरा यहाँ लेख्न मन लाग्यो । उपयोगी नै बन्ला ।

नेपालमा शाखा रहेको स्ट्यान्डर्ट चार्टड बैंकको पुरा हिसाब किताब (लेखापरीक्षण) भएछ । सब हिसाब मिल्यो तर सात लाख रुपैयाँ चाहिं पुग्दैन , तर गएको पनि कहीं देखिदैन । बदमासी कतै नदेखिने तर अपुग सात लाख कतै भेटिदैन । विभिन्न देशका चल्तीका विद्वान सिएहरुले गरेको लेखापरिक्षण समेत फेल खायो ।

बल्ल बल्ल पाकिस्तानका एक सिएले पत्ता लगाए । सात लाख त टेलरमा कार्यरत कर्मचारीको खातामा छ । भएको चाहिं के रहेछ भने बचत गर्न र निक्षेप निकाल्न आउनेबाट नै ति कर्मचारीले पचास पैसा, पच्चिस पैसा गरेर आफ्नो खातामा सात लाख जम्मा गरेछन् । लाख र करोडको मात्रै ख्याल गरेर हिड्ने निक्षेपकर्ताले एक करोड सम्झे । तर त्यसको पछाडी रहेको पचास पैसालाई पैसा नै मानेन् वा बिर्से ।

हो, हाम्रो नेपालीमा उखानै छ नि ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ भन्ने हो । तर थोरै खर्च कटाएर जोहो गर्नेहरुलाई राज्य र व्यापारी मिलेर लुटिरहेका छन् । भाउ लिटरको एकसय दुइ रुपैयाँ पच्चिस पैसा बनाएर ,लिने पुर्याएर पाँच रुपैयाँ ।

अँ, साँच्ची सर्वसाधारणबाट लुट्नका लागि नै होला सरकारले चानचुन पैसाको निश्कासनमा कमी ल्याएको ? खै बजारमा रु १ र रु २ का नोट देख्नै छाडियो । न त सिक्का नै । कि राष्ट्र बैंकले छाप्नै छाड्या हो ?

लुट्नेले लुटेकै छ, नियमन गर्नेलाई कमिसन मिले कै छ । तिर्नेले हाड घोटेकै छ । दिनदहाडै चानचुन छैन भनेर लुट्न पाएसी र त्यही लुटबाट कमिसनले राज्य चलेसी केको टनटन नि ।तर पनि खै हामीले चानचुनको तागत चै कहिले बुझ्ने हो कुन्नी ?

प्रकाशित : २६ श्रावण २०७७, सोमबार ०८:५४