अध्ययन भन्छ, चिनी उद्योगबाट ९० मेगावाट विद्युत उत्पादन सकिन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अध्ययन भन्छ, चिनी उद्योगबाट ९० मेगावाट विद्युत उत्पादन सकिन्छ



काठमाडौं। हालसम्म सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले सुख्खा याममा ९० मेगावाट विद्युत उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । चिनी उद्योगहरुबाट उखु पेलिसकेपछि निक्कने खोस्टाबाट विद्युत उत्पादन गरी व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने बिषयमा उद्योग मन्त्रालयले गरेको सम्भावनाको अध्ययनबाट यो तथ्य बाहिर आएको हो।

मन्त्रीपरिषद आर्थिक तथा पूर्वाधार समितिको बैठकमा उद्योगमन्त्रालयको पहल तथा उर्जामन्त्रालयको प्रस्तावमा ‘चिनी उद्योगबाट विद्युत सहउत्पादनको प्रबद्र्धन गर्ने’प्रस्ताव बुधबार पेश भई स्वीकृत भएको छ।

‘हाल सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले बार्षिक झण्डै ३० लाख टन उखु पेल्छन, जसको खोस्टाबाट अत्यधिक लोडसेडिङ हुने पौष, माघ र फाल्गुण महिनामा चिनी उत्पादन सँगसँगै विद्युत पनि उत्पादन गरी उद्योगको आफ्नो खपतबाट उब्रेको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्न सकिन्छ’–उद्योग मन्त्री महेश बस्नेतले भन्नुभयो। उहाँले देशमा जलविद्युतको उत्पादन न्यून हुने सुख्खा याममा अतिरिक्त विद्युत उत्पादन गर्न सकिने र सोबाट दुई घण्टा लोडसेडिङ्ग न्यूनीकरण गर्न सकिने बताउनुभयो।

चिनी उद्योगमा हाल खेर गइरहेको उखुको खोस्टाको राम्रो सदुपयोग र व्यवस्थापन गरी छिमेकी देश भारत लगायत अन्य देशमा समेत चिनी उद्योगमा विद्युतको सहउत्पादनको सफल प्रयोग भइसकेको छ। हिँउदको सुख्खा मौसममा बार्षिक करिब १ अर्ब १८ करोड युनिट विद्युत उर्जा जलविद्युत गृहबाट उत्पादन भइरहेको स्थितिमा थप लगानी सहितको चिनी उद्योगको सहउत्पादनले उक्त उत्पादनको झण्डै १८% योगदान गर्न सक्ने सम्भावना रहेको छ।

सञ्चालनमा रहेका चिनी उद्योगहरुका साविककै संरचनाबाट पनि झण्डै १०–१२ मेगावाट विद्युत तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति हुन सक्छ, जसबाट बर्षको करिब २ करोड युनिट विद्युत उर्जा उपलब्ध हुन सक्छ, जुन नेपाल विद्युत प्राधिरणले आफ्ना डिजेल प्लान्टहरुबाट उत्पादन गदैँ आएको सम्पूण विद्युत उर्जाको झण्डै दोब्बर हुन आउछ। यति मात्र विद्युत राष्ट्रिय प्रणालीमा ल्याउन खासै ठूलो लगानीको जरुरत नपर्ने र करिब छ महिनाको समयमा काम सम्पन्न गर्न सकिने बताइएको छ।

यस बाहेक, केही थप लगानी र मेशिन, उपकरणमा सामान्य संरचनागत सुधार गरेर डेढ/दुई बर्षभित्र करिब ३०–४० मेगावाट विद्युत (वार्षिक झण्डै १२ करोड युनिट) राष्ट्रिय प्रणालीमा आपूर्ति हुन सक्छ। अझ थप केही पूर्वाधार सुधार र उल्लेख्य लगानी गर्ने हो भने दुई देखि चार बर्ष भित्र ६३–८७ मेगावाट –बार्षिक २६ करोड युनिट) विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुन सक्छ चिनी उद्योगबाट विद्युत सहउत्पादनको प्रबद्र्धन गर्ने उद्योग मन्त्रालयको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित : २० जेष्ठ २०७२, बुधबार १३:०१