तपाईसँग हातमा पैसा छ ? ९ कम्पनीको १ अर्ब २० करोडको आइपीओ आउँदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तपाईसँग हातमा पैसा छ ?
९ कम्पनीको १ अर्ब २० करोडको आइपीओ आउँदै छ



IPOs1काठमाडाै । तपाईसँग हातमा पैसा छ र लगानी गर्ने सोच्दै हुनुहुन्छ भने केही समय पर्खनुहोस् ९ वटा विभिन्न कम्पनीले १ अर्ब २० करोड मूल्य बराबरको इनिसियल पब्लिक अफरिङ अर्थात आइपीओ गर्दैछन् ।

आरएसडीसी लघुवित्त बित्तीय संस्था लिमीटेड ४ लाख कित्ता शेयर अर्थात ४ करोड मूल्यका शेयर आइपीओ गर्दैछ । यसको बिक्री प्रवद्र्धक एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ । आरएसडिसीका सीइओ दामोदर जोशीले आइपीओ गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको ४० दिन बितिसकेको र अब स्वीकृति पाउनेबित्तकै आइपीओ गर्ने स्पष्ट पारे । यो लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६६ लाख २५ हजार खूद नाफा आर्जन गरेको छ । यसको अधिकृत पूँजी २० करोड छ भने जारी पूँजी १० करोड तथा चुक्तापूँजी ६ करोड छ । ४ करोडको आइपीओ गरेपछि यो संस्थाको चुक्तापूँजी १० करोड पुग्नेछ ।

तीन जिल्ले विकास बैंक ग्रिन डेभलपमेन्ट बैंक लिमीटेडले पनि १० करोड मूल्यको १० लाख कित्ता शेयर आइपीओ गर्दैछ । यो बैंक बाग्लुङ, म्याग्दी र कास्कीमा कार्यरत संस्था हो । बाग्लुङको पहिलो स्थानीय विकास बैंक हो यो । यो बैंकको विक्री प्रवद्र्धक समेत एनआइबिएल क्यापिटल मार्केट लिमीटेड नै हो । अबको दुई महिनाभित्रमा आइपीओ आउने बैंकका अधिकारीहरुले बताएका छन् । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ लाख ४४ हजार खूद नाफा आर्जन गरेको छ । बैंकको हालको चुक्तापूँजी ५ करोड ५ लाख रहेको छ, आइपीओ गरेपछि चुक्तापूँजी १० करोड पुग्नेछ ।

नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले पनि ३ करोड मूल्यको ३ लाख कित्ता शेयर सर्वसाधारणमा आइपीओ गर्दैछ । यसको बिक्री प्रवद्र्धक पनि एनआइबिएल क्यापिटल नै रहेको छ । आइपीओ गर्न धितोपत्र बोर्डले स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको र चाँडै आफूहरुले आइपीओ गर्ने संस्थाका एक अधिकारीले बताए । सन् २०१४ बाट यो संस्थाले राष्ट्रिय स्तरको माइक्रो फाइनान्स संस्थाको रुपमा आफ्नो कारोबार गरिरहेको छ । नेशनल माइक्रो फाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड ३८ लाख खूद नाफा गरेको छ भने चुक्तापूँजी ७ करोड रहेको छ ।

स्याङ्जामा मुख्य कार्यालय रहेको सूर्योदय लघुवित्त बित्तीय संस्था लिमीटेडले पनि १ करोड २० लाख मूल्यका १२ लाख कित्ता शेयर आइपीओ गर्दैछ । ग्लोबल आइएमई क्यापिटल लिमीटेड यसको बिक्री प्रवद्र्धक हो । यो संस्थाले हाल बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पामा काम गरिरहेको छ । सूर्योदय लघुवित्तले चालु आबको दोश्रो त्रैमासमा ७० लाख ३२ हजार खूद मुनाफा गरेको थियो । बैंकको हाल चुक्तापूँजी २ करोड ८० लाख रहेको छ ।

यसैबीच, अरुण काबेली पावर कम्पनी लिमीटेडले समेत ४५ करोड मूल्य बराबर ४५ लाख कित्ता शेयर जारी गर्दैछ । योमध्ये १५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी ३० लाख कित्ता शेयर कर्मचारी र सर्वसाधारणका लागि विनियोजन गरिएको छ । एकसाताभित्रै धितोपत्र बोर्डले आइपीओ गर्न स्वीकृति दिने र त्यसपछि कम्पनीले आइपीओ गर्ने एक अधिकारीले बताए । सिद्धार्थ क्यापिटल लिमीटेड यो कम्पनीको आइपीओका लागि बिक्री प्रवद्र्धक रहेको छ ।

दिव्यश्वरी हाइड्रोपावर लिमीटेडले समेत २६ करोड ४० लाख मूल्य बराबरको २६ लाख ४० हजार कित्ता शेयर आइपीओको तयारी गरिरहेको छ । यो सबै शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी हुन लागेको हो । यो जलविद्युत आयोजना संखुवासभाको धुपु गाविसमा अवस्थित छ । यो आयोजना ४ मेगावाटको हो । एस क्यापिटल लिमीटेड यो कम्पनीको आइपीओका लागि बिक्री प्रवद्र्धक रहेको छ । आयोजना प्रभावित क्षेत्रका लागि आइपीओ गरेलगत्तै कम्पनीले ३ लाख ९६ हजार कित्ता शेयर सर्वसाधारणका लागि समेत जारी गर्नेछ ।

ललितपुरमा अवस्थित खानीखोला हाइड्रोपावर कम्पनी लिमीटेडले समेत ९ करोड ३१ लाख मूल्य बराबरको ९ लाख ३१ हजार ४ सय २९ कित्ता शेयर आइपीओ गर्दैछ । सबै शेयर सर्वसाधारणको नाममा आइपीओ हुन लागेको हो । कम्पनीको बिक्री प्रवद्र्धक सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ । एक अधिकारीका अनुसार धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम प्रक्रिया चलिरहेको र एकमहिनाभित्र आइपीओ जारी हुनेछ ।

यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले समेत ७ करोड मूल्यको ७ लाख कित्ता शेयर आइपीओ गर्दैछ । सिभिल क्यापिटल मार्केट लिमीटेड यसको बिक्री प्रवद्र्धक हो । यो कम्पनीले १० मेगावाट क्षमताको स्प्रिङ खोला हाइड्रोपावर कम्पनीमा लगानी गरेको छ ।

हिमालयन पावर पार्टनर लिमीटेडले समेत १० करोड ६५ लाख मूल्य बराबरको १० लाख ६५ हजार ४ सय १७ कित्ता शेयर आइपीओ गर्ने भएको छ । यसको बिक्री प्रवद्र्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । यो उर्जाको क्षेत्रमा खोजअनुसन्धान गर्ने, लगानी गर्ने लगायतका उद्देश्य राखेर २०६१ सालमा स्थापना भएको कम्पनी हो । सन् २०१३ जुनमा यो कम्पनीमा लगानीकर्ताको रुपमा एनआरएनए प्रवेश गरेपछि पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएको थियो । यो कम्पनीले लमजुङमा २७ मेगावाटको दोर्दीखोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०३:११