एसियानाको जहाजले पीसीआर नगरेका यात्रु ल्यायो, यात्रुलाई छाड्न उल्टै दबाब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

एसियानाको जहाजले पीसीआर नगरेका यात्रु ल्यायो, यात्रुलाई छाड्न उल्टै दबाब



काठमाडौं। एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले नेपाल सरकारले हवाई यात्रुका लागि बनाइएको प्रोटोकल मिचेको आरोप लागेको छ ।

एसियानाले पीसीआर रिपोर्ट नगरेका ११ यात्रुलाई पनिसँगै लिएर आएको खबर प्राप्त भएको छ । शनिबार कोरियाबाट चार्टड फ्लाइटमा आएको एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभएपनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिएको विमानस्थल स्रोतले बतायो ।

एसियाना एयरलायन्सको जीएसए गण्डकी ट्राभल्स हो । ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोनेले भने, कोरियाबाट चार्टर्ड फ्लाइट आएपनि मान्छे नआएको बताए । ‘कोरियाबाट फ्लाइट आएको हो तर मेडिकलको सामान लिएर आएको कार्गो फ्लाइट हो,’ उनले भने ।

तर कोनेले दिएको जानकारी भने झुटो देखिएको छ । विमानस्थल प्रशासनले नै कोरियाबाट एसियाना एयलायन्सले १६० जना यात्रुहरु बोकेर आएको र ११ जना पीसीआर नगरेको कारण नछोडिएको पुष्टि गरेको छ ।

एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो । फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधैं छोड्नुपर्ने दबाब दिएको विमानस्थल स्रोतले बतायो।

सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरि यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गरिने बताए ।

‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार २१:३३