रसुवा भन्सार नाकामा चिनियाँ पक्षको ‘दादागिरी’, नेपाली व्यवसायीलाई हैरानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रसुवा भन्सार नाकामा चिनियाँ पक्षको ‘दादागिरी’, नेपाली व्यवसायीलाई हैरानी



काठमाडौं । चिनियाँ पक्षले कोरोनाका कारण स्वास्थ्य प्रोटोकल अपनाउँदा रसुवा नाका हुँदै कारोबार गर्ने नेपाली व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेका छन् ।

रसुवा नाकाबाट भित्रिने सामग्री बोकेका कन्टेनरमा चिनियाँ ट्रान्सपोर्ट एजेन्टले जथाभावी भाडादर तोक्दा केरुङ–रसुवाअन्तर्गत २६ किलोमिटर सडकको भाडा करिब नौ लाख रुपैयाँ तिर्न व्यवसायी बाध्य बनेका हुन् ।

सिन्धुपाल्चोकको तातोपानी नाका पटक–पटक बन्द भइरहने भएपछि र सामग्री भित्र्याउने रसुवाबाहेक अर्को विकल्प नभएकै कारण चिनियाँ पक्षले एकलौटी रुपमा भाडा बढाएको हो ।

कोरोनाका कारण हाल नेपाली व्यवसायीलाई चीनतर्फ प्रवेशमा रोक लगााइएको छ । कोरोनाकै कारण चीनले आफ्नो क्षेत्रमा नेपाली व्यापारी भित्र्याएको छैन ।

गोदाममा रहेका सामग्री चिनियाँ ट्रान्सपोर्ट एजेन्टले नाकासम्म ल्याइदिने हुँदा एकतर्फी रुपमा भाडा दर बढेको हो ।

केरुङबाट नाकासम्मको भाडा अहिले चिनियाँ ट्रान्सपोर्ट एजेन्टले ५० हजार चिनियाँ मुद्रासम्म लिने गरेको व्यवसायीको गुनासो छ । यो रकम करिब नौ लाख नेपाली रुपैयाँ हुन आउँछ ।

रसुवा नाकाबाट अहिले अधिकांश रेडिमेड पोशाकका सामग्री भित्रिरहेका छन् । सिजनका सामग्री भएकाले व्यवसायीले झण्डै नौ लाख नेपाली रुपैयाँ भाडा तिरेर भएपनि ल्याउन बाध्य भएको व्यवसायीहरुको गुनासो छत ।

दसैं, तिहार र जाडो लक्षित सामग्री अहिले तुरुन्तै नभित्र्याए व्यवसाय डुब्ने अवस्थामा पुग्ने हुँदा व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेको व्यवसायीहरुको गुनासो छ ।

यसअघि यो सडक खण्डको भाडा दर प्रति कन्टेनर दुई हजारदेखि पच्चीस सयसम्म हुने गर्दथ्यो । रसुवातर्फको भाडा दर घटाउने बारे नेपाल तर्फबाटै चासो नभएको व्यवसायीको गुनासो छ ।

अहिले रसुवा नाकाबाट दैनिक हाराहारी १० कन्टेनर नेपाल भित्रन्छन् । यसअघि ३० भन्दा बढी कन्टेनर सामग्री बोकेर नेपाल भित्रने गरेका थिए ।

प्रकाशित : २५ आश्विन २०७७, आईतवार ०९:५३