राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंसिर २२ गतेदेखि, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंसिर २२ गतेदेखि, यस्ता छन एजेन्डा



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले १७ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । बैंकको शुक्रवार बसेको बैठकले वार्षिक साधारणसभा प्रदेशगत रुपमा भुर्चअल माध्यमबाट सम्पन्न गर्ने निर्णय गरेको हो ।

कोरोना (कोभिड–१९) संकटका कारण भौतिक उपस्थितिमा साधारणसभा गर्न संभव नभएको र नियामक निकायले समेत यो वर्षको साधारणसभा विद्युतीय माध्यम मार्फत गर्न सकिने निर्देशन जारी गरेकोले प्रविधिको प्रयोग गरी सम्पन्न गर्ने निर्णय गरिएको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए । बैठकले आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म एकाई साधारणसभा र पुस ३ गते मुख्य साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैंकको १७ औं वार्षिक साधारणसभा अन्तरगत प्रदेश नं. १ को एकाई सभा मंसिर २३ गते, प्रदेश नं. २ को मंसिर २४ गते, बागमती प्रदेशको मसिर २५ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते, सुदुरपश्चिम प्रदेशको २८ गते र गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष उप्रेतीले बताए । एकाई सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको छ ।

सहकारी ऐन, नियमावली र सहकारी विभागले जारी गरेरको साधारणसभा सञ्चालन सम्बन्धी निर्देशिका एवम बैंकको स्वीकृत विनियमावलीका आधारमा एकाइ साधारणसभा गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।


बैंकमा १२ हजार २ सय ८३ सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । कोभिडको कारण केही समस्या भएपनि साधारणसभाको प्रतिवेदन बैंकको वेवसाइटमा हेर्न र डाउनलोड गर्न सकिने साथै तिहार अगाडि नै सदस्यमाझ वितरण गर्ने प्रवन्ध मिलाउन व्यवस्थापनले काम गरिरहेको समेत प्रमुख प्रशासकीय अधिकृत गुरागाईले बताए ।

प्रकाशित : १६ कार्तिक २०७७, आईतवार ११:०५