राष्ट्रिय सहकारी बैंकका एकै दिन ४ वटा शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

राष्ट्रिय सहकारी बैंकका एकै दिन ४ वटा शाखा सञ्चालनमा



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले काठमाडौ र भक्तपुरका विभिन्न स्थानमा एकै दिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतवार एकै दिन शाखा शुभारम्भ गरिएको हो ।

बैंकका अध्यक्ष केबी उप्रेतीले छुट्टा छुट्टै समयमा चार वटा शाखाको उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो ।

काठमाडौं र भक्तपुरमा चार ठाउँमा एकै दिन चारवटा शाखा सञ्चालनमा ल्याएका छौ, अध्यक्ष उप्रेतीले भने । लगत्तै थप २० वटा शाखा पनि सञ्चालनमा आउदैछन् ।’ काठमाडौमा नारायणगोपाल चोक, नया बजार, पुतली सडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालनको तयारी छ ।

यस्तै प्रदेश १ मा झापाको मेचीनगर, सुनसरीको इनरुवा र मोरङको सुन्दरहरैचा, प्रदेश नं. २ मा बाराको कलैया, गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजार, लुम्बिनी प्रदेशमा रुपन्देहीको भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको भुरीगाउँ तथा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले जानकारी दिए ।

४४ वटा शाखामार्फत सदस्यहरु लाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले आगामी पुस मसान्त भित्र ६८ वटै शाखा मार्फत सेवा सञ्चालन गर्ने भएको छ । शाखासंगै शाखारहित सेवाको समेत तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए । सहकारी बैंकका सदस्य संस्थाहरु ७७ वटै जिल्लामा छन् ।

अब बैंकको शाखा र शाखारहित सेवा सबै जिल्ला, महानगरपालिका र उपमहानगरपालिका हुदै नगरपालिका र गाउँपालिकासम्म पु-याउने योजनाका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले भने । बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघ संस्था सदस्य रहेका छन् । बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करो निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार १२:४०