कोटेश्वर-जडीबुटी सडकखण्ड सात लेनको हुने, धमाधम काम हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

कोटेश्वर-जडीबुटी सडकखण्ड सात लेनको हुने, धमाधम काम हुँदै



काठमाडौं । काठमाडौं उपत्यकामा बढी ट्राफिक जाम हुने कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार गरी अब सात लेनको हुने भएको छ ।

ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यसहित सात लेन बनाउन लागिएको कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउने काम धमाधम भइरहेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले आगामी महिना सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

सडक विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पर्खाल सारिएको छ । अब केही समयभित्रै निर्माणस्थल खाली गरेर आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले जनाएका छन् ।

विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो ।

कोटेश्वर–जडीबुटी सडकखण्ड हाल चार लेन रहेको छ । अब तीन लेन थप्न संरचना हटाउने काम भइरहेको हो । सडकमा तीन लेन थपिएपछि उक्त सडकखण्डमा सवारी चाप कम हुने अपेक्षा गरिएको छ ।

कोटेश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली गर्ने काम भइरहेको हो ।

डिभिजन सडक कार्यालय काठमाडौंले निर्माण सुरु भएको ६ महिनामा सम्पन्न हुने जनाएको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ भने कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय काठमाडौं महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने जनाएको छ ।

प्रकाशित : २ मंसिर २०७७, मंगलवार १७:४९