प्रहरी हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीलाई हदैसम्म कारबाहीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

प्रहरी हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीलाई हदैसम्म कारबाहीको माग



काठमाडौं । धनगढीमा दुईजना प्रहरीको हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीले राय दिएको छ ।

अस्थायी प्रहरीपोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउदको हत्यामा संलग्न भएकाहरुलाई हदैसम्मको कारबाही गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले सरकारी वकिललाई राय दिएको हो ।

हत्याकान्डको अनुसन्धान प्रतिवेदन बुझाउँदै कैलाली प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजना अभियुक्त, मटर व्यापारी र अनुसन्धानका क्रममा पछि खुल्दै जानेलाई कानुनबमोजिम हदैसम्म कारबाहीको मागसहित उक्त राय दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै संलग्नलाई हदैसम्मको कारबाही गर्न राय दिइएको जानकारी दिए ।

उहाँकाअनुसार यसअघि नै अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई पेस गरिएको भएपनि एकजना अभियुक्तलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि अदालतीय प्रक्रिया भने पछाडि धकेलिएको छ ।

अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको भन्दै प्रहरी निरीक्षक थापाले बीचमा परेको सार्वजनिक बिदा र अभियुक्तलाई कोरोना देखिएपछि अदालतमा पेस गर्न नसकेको बताए । ती अभियुक्तको कोरोना ‘रिपोर्ट नेगेटिभ’ आउनेबित्तिकै अदालतमा पेस गर्ने उनले बताए ।

गएको कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरीपोस्ट जुगेडामा कार्यरत् प्रहरी सहायक निरीक्षक विक र प्रहरीजवान साउदको हत्या गरिएको थियो ।

विभत्स हत्या गरेको अवस्थामा उनीहरु दुवैजनाको शव मोहना नदीमा फेलापरेको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जुगेडाकै सातजनालाई पक्राउ गरेको छ भने हत्याका नाइके भनिएका एकजना अझै फरार छन् ।

मटर तस्करीमा अवरोध गरेपछि प्रहरीको हत्या गरेको अभियुक्तको बयानका आधारमा धनगढीकै व्यापारी राजीव गुप्तालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार २१:०२