चन्द्रागिरी हिल्सको आइपिओ खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

चन्द्रागिरी हिल्सको आइपिओ खुल्यो



काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि आज (मंसिर १७ गते बुधबार) देखि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर (आइपीओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीकाे उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपीओमा छिटोमा पाैष १ गते र ढिलोमा पाैष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ (साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७ र ८ मात्र) एवं मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरू) र इन्द्रसराेवर गाउँपालिका वडा नं. ५ मा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरूले मात्र यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार १३:००