राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट



बागलुङ । राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा घोषणा भएको छ । बैंकको १७ वार्षिक साधारणसभा अन्तरगत सोमबार सम्पन्न गण्डकी प्रदेश स्तरीय एकाई सभामा बागलुङ शाखालाई उत्कष्ट घोषणा गरिएको हो ।

४४ वटा शाखा मध्ये यस वर्ष बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा चयन भएको बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सरिता भट्टराईले जानकारी दिनुभयो ।

२०६५ सालमा बैंकको दोस्रो शाखाका रुपमा स्थापना भएको बागलुङ शाखामा धौलागिरी क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सहकारीहरुले कारोबार गर्दै आएका छन् ।

यस्तै बैंकले प्रदान गर्ने पुरस्कार अन्तर्गत बचत तथा ऋण सहकारी संस्था बाहेकका सहकारीहरु मध्ये गण्डकी प्रदेशको पोखरास्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको छ ।

बैंकले प्रदेश स्तरमा २ वटा संस्थालाई पुरस्कृत गर्दै आएको छ । गण्डकी प्रदेशबाट वचत तथा ऋण विधामा नवलपरासी (सुस्तापूर्व) को देवचुलीस्थित परोपकार वचत तथा ऋण सहकारी संस्था र अन्य विधामा कास्कीको पोखरास्थित काहुँदेउराली बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत भएका छन् ।

बैंकले शाखा स्तरमा प्रदान गर्ने उत्कृष्ट र नियमिततर्फ कावासोती शाखाबाट किसान बचत तथा ऋण सहकारी संस्था गौडाकोट र महाराजा वचत तथा ऋण सहकारी संस्था कावासोती, दमौली शाखाबाट तिनखोले वचत तथा ऋण सहकारी संस्था र मादीसेती वचत तथा ऋण सहकारी संस्था, पोखरा शाखाबाट अलकापुर वचत तथा ऋण सहकारी संस्था र लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी संस्था, वालिङ शाखाबाट शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था र बागलुङ शाखाबाट बागलुङ बहुउद्देश्यीय सहकारी संस्था र बागलुङ दुग्ध उत्पादक सहकारी संघ पुरस्कृत हुने भएका छन् ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार २१:०८