नेकपा फुट्यो, ओली र प्रचण्डको आ-आफ्नै दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेकपा फुट्यो, ओली र प्रचण्डको आ-आफ्नै दाबी



काठमाडाै । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेकपा फुटेको छ । ओली र प्रचण्ड दुवै पक्षले नेकपामा आफू वैधानिक भएको दाबीका लागि पत्र निर्वाचन आयोगमा पठाएपछि नेकपा फुटेको हो ।

सोमबार नै अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको जानकारीसहितको पत्र प्रचण्ड पक्षीय नेकपाले निर्वाचन आयोगमा दर्ता गराएको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त पत्र लिएर निर्वाचन आयोग पुगी दर्ता गराएका थिए ।

नेकपाको प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । बबरमहल स्थिति कार्की ब्यांक्वेटमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

बैठकमा ३१५ जना केन्द्रीय सदस्य सहभागी भएकोले यो वैधानिक निर्णय भएको प्रचण्डले बताएका छन् ।

बैठकमा ओलीले राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप सहित पदबाट हटाउनको लागि प्रस्ताव पेश भएको थियो ।

नेकपा एमाले ब्युँताउने गरी ओलीले विगतमै तयारी पूरा गरिसकेका छन् । तर, सुर्य चिन्हमा दुवै पक्षको स्वार्थ छ । यसअघि तत्कालिन नेकपा एमाले २०५४ सालमा फ्ट्दा तत्कालिन महासचिव माधवकुमार नेपाल पक्षले वैधानिकता पाउँदा सुर्य चिन्ह पाएको थियो । वामदेव गोतम पक्षधरले तारा चिन्ह बनाउनुपरेको थियो ।

नेकपाभित्रको आज विहान देखिको नाटकीय घटनामा ओली पक्षले प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाएको निर्णय गरेको छ । यसबाहेक अन्य कसैलाई पनि कारबाही नगरिएको उल्लेख छ । अध्यक्ष ओलीले पनि कसैलाई कारबाही नगर्ने बताएका छन् । २०७८ साल मंसिरमा महाधिवेनको मिति समेत तोकेका छन् ।

प्रकाशित : ७ पुष २०७७, मंगलवार २०:२६