सीतापाईला सहकारीले बहुउद्देश्यीय परियोजना संचालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सीतापाईला सहकारीले बहुउद्देश्यीय परियोजना संचालन गर्ने



काठमाडौं । सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय परियोजना संचालन गर्ने भएको छ । संस्थाले आधुनिक कृषि फर्म तथा होमस्टेलगायतको परियोजना संचालन गर्ने भएकोे हो ।

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीको विशिष्ठ आतिथ्यतामा शनिबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष केदार मानन्धरले आर्थिक वर्ष ०७६/०७७ को प्रगती प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले आगामी दिनमा बहुउद्देश्यीय परियोजना अन्तर्गत होम स्टे प्रवद्र्धन, नेट टि.भी सम्बन्धि कार्य तथा स्थानिय कृषक तथा सदस्य कृषकहरुको लागि शितगृह सञ्चालन गरि उनीहरुको आय बृद्धि गर्न जनाए । उनले आधुनिक कृषि फर्म सञ्चालन गर्न कम्तिमा ३० देखि ५० रोपनी जग्गा खरिद गर्न बिशेष कार्ययोजना निर्माण गरिने बताए । होम स्टेको लागि पहिलो चरणमा, नागार्जुन नगरपालिका वडा नं. ८ मा रहेको भिमढुंगाको थाप्ले गाउंलाई आन्तरिक पर्यटन केन्द्रको रुपमा बिकास गर्न १ रोपनी १३ आना जग्गामा होम स्टे प्रबद्र्धन गर्ने लक्ष्य लिएको सभामा जानकारी दिए ।

त्यसैगरी दोश्रो चरणमा संस्थामा आबद्ध महिला समुहसंग संयोजन गरि परम्परागत शैलीबाट घरहरु निर्माण गरि होम स्टे सञ्चालन गर्ने र उक्त तामाङ बस्तीमा निर्माण हुने नयाँ घरहरुलाई पनि होम स्टेको रुपमा परिणत गर्न प्रेरित गरि आय आर्जन र पर्यटकिय स्थलको रुपमा बिकास गर्ने अवधारणा लिएको बताए । सहकारी संस्थाहरुले उत्पादन गरेका खाद्यान्न तथा उपभोग्य वस्तुहरुको प्रशोधन तथा बजारीकरण गर्न संस्थाले उपभोक्ता सहकारी बजार, भण्डारण र चिस्यान केन्द्र सञ्चालन गर्न परियोजना तयार गरि सञ्चालन गर्ने लक्ष्य लिएको छ अध्यक्ष मानन्धरले बताए ।

संस्थाले गत आर्थिक बर्ष देखि विष्णु देवी माध्यामिक विद्यालय तीनथानाका छात्र सिन्की थामी, चुनदेवी माध्यामिक विद्यालय, थानकोटका छात्राहरु सुप्रिया लामा र सुस्मा लामा, जनउद्धार माध्यामिक विद्यालय छात्रा प्रेनिका तामाङ समेतगरि ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको बताए । संस्थाका सदस्यको छोराछोरी, जेहन्दार र गरिव विद्यार्थीहरुलाई प्राथमिकता दिइ छनोट भएका विद्यार्थीहरुलाई एसइईसम्म सहयोग गर्ने संस्थाले जनाएको छ ।

उनले बन्दाबन्दीकै समयमा विभिन्न उपायहरु अवलम्वन गरि सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहेर सदस्यलाई नगद भुक्तानी सेवा प्रदान गरेको र कर्मचारीलाई अनकल ड्युटीमा राखी, क्षेत्रगत जिम्मेवारी सहित २ लाखसम्म बचत  भुक्तानीको प्रबन्ध गरेको, एटिएम सेवा, रकम ट्रान्सफर सेवा प्रदान गरेको सभामा जानकारी दिए । संस्थाले सञ्चालन गरेको विद्युतीय माध्यमहरु एटिएम, मोबालईल बैंकिङलगायतको सेवा अत्यन्त उपयोगी भएको सभामा जानकारी गराए ।

उनले चन्द्रागिरी र नागार्जुन नगरपालिकासंग समन्वय गरि लघुवित्त कार्यक्रममा आबद्ध  महिला सदस्यहरुको बीमा, जेष्ठ नागरिकहरुको बीमा खर्च व्यहोर्ने गरि बीमा गरिएको जनाए । बन्दाबन्दीमा बढी महामारीको असर परेको साना पसलहरु, कृषि तथा पशुपालन, यातायात सञ्चालन गरि स्वरोजगारमा संलग्न रहेकाहरुलाई तत्काल पुर्नकर्जाको व्यवस्था समेत गरेको बताए । सदस्यहरुलाई २ महिना सम्मको लागि ५० हजार रुपैंया सम्मको आपतकालीन निब्र्याजी कर्जा उपलब्ध गराएको र कार्तिक महिनादेखि सबै कर्जाहरुको ब्याजदर १४.७५ प्रतिशत कायम गरेको जानकारी दिए ।

सभामा अध्यक्ष मानन्धरले सदस्यहरुको मृत्युमा सामाजिक संस्कारको लागि निजको परिवारलाई काजकृया खर्च सहयोगबापत प्रत्येक सदस्यलाई १० हजार प्रदान गरिएको । मातृशिशु कल्याण कार्यक्रम अन्तर्गत ३२ जना शेयर सदस्य प्रसुती हुँदा २ हजार ५ सयका दरले सहयोग प्रदान गरेको बताए । त्यसैगरी विद्यार्थी साक्षरता कक्षा, छात्रवृत्ति तथा विद्यार्थी बचत क्लब गठनलाई हाल विष्णुदेवी माध्यामिक विद्यालय तीनथाना, चुनदेवी माध्यामिक विद्यालय थानकोट, बालबोध माध्यामिक विद्यालय भिमढुंगा, जनउद्धार माध्यामिक विद्यालय सीतापाईलामा निरन्तर सञ्चालनमा रहेको र रत्नराज्य माध्यामिक विद्यालय रामकोटमा पनि साक्षरता कक्षा सञ्चालन गरिएको बताए ।

उनले आर्थिक वर्ष ०७७/०७८ मा शेयर सदस्य ७ हजार ४ सय र लघुवित्त महिला समुह केन्द्र ९० समुह पुर्याउने लक्ष्य राखिएको जनाए । आर्थिक वर्ष २०७७÷०७८ मा निक्षेप १ अर्ब १० करोड र शेयर पूँजी ७ करोड ४० लाख संकलन गर्ने लक्ष लिएको सभामा जानकारी गराए । त्यसैगरी आर्थिक वर्ष ०७७/०७८ मा १ अर्ब ५ करोड कर्जा लगानी गर्ने लक्ष्य लिएको जनाए । संस्थाले ज्येष्ठ नागरिक भेला गरि निक्षेपको आधारमा दशैं खर्च प्रदान गर्ने गरेको र कार्यक्षेत्र भित्रका नगरपालिकाहरुसंग समन्वय गरि संघसंस्था, बिद्यालयहरुसंग सहकार्य गरी नागरिक सम्मान, रक्तदान, सरसफाई, स्वास्थ्य शिविर खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरु संचालन गरिने जनाए ।

संस्थाका सदस्यहरुलाई भवितब्य तथा अन्य आकस्मिक बिपत्ति वा सार्वजनिक दुर्घटना परेकालाई तत्काल राहत ऋण स्वरुप ५० हजार प्रदान गर्ने र संस्थाका सदस्यहरुलाई शुभेच्छा अस्पतालमा उपचार गराउँदा छुट हुने बताए । आफ्नो कार्यक्षेत्र भित्रका अन्य सहकारी संस्थाहरुसंग समन्वय गरि एकिकरण गरि सदस्यलाई  सेवा प्रदानगर्ने लक्ष्य लिएको अध्यक्ष मानन्धरको भनाई छ ।

प्रकाशित : २५ पुष २०७७, शनिबार २१:२२