अनलाइनबाटै २० करोडसम्मको भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अनलाइनबाटै २० करोडसम्मको भुक्तानी



काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको छ । यससँगै संस्थागत तथा कर्पोरेट ग्राहकले ‘कर्पोरेट पे’ मार्फत अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् ।

एनसीएचएलका अध्यक्ष समेत रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले चेक बोकेर बैंकसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न कर्पोरेट पे सञ्चालनमा ल्याइएको बताए । ‘वालेट र कनेक्ट आईपीएसको प्रयोग बढेपनि चेक बोकेर बैंक काउन्टरमा पुग्नुपर्ने वाध्यता आज पनि छ,’ उनले भने, ‘त्यही बाध्यता अन्त्य गर्न कर्पोरेट पे उपलब्ध गराइएको हो ।’

शाक्यका अनुसार व्यावसायिक ग्राहकहरुले कर्पोरेट पेबाट कारोबार गर्न मिल्ने गरी एनसीएचएलमा बैंक तथा वित्तीय संस्थाका लागि थप च्यालनको रुपमा कर्पोरेट पे उपलब्ध गराइएको छ ।

जसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले व्यावसायिक ग्राहकलाई कर्पोरेट पेमा आवद्ध गराएर विभिन्न किसिमका भुक्तानी विद्युतीय माध्यमबाट गर्न सक्नेछन् । साथै कारोबारको राफसाफ समेत एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएसबाट हुने व्यवस्था मिलाइएको छ ।

एनसीएचएलका अनुसार गत आवमा ९ खर्ब ७० अर्ब रुपैयाँ बराबरको तथा चालु आवको ६ महिनामा ५ खर्ब ७ अर्ब रुपैयाँ बराबरको हिसाब किताब राफसाफ गरिएको छ ।

कर्पोरेट पेजस्ता डिजिटल भुक्तानीका माध्यमको प्रयोग बढ्दा बैंकको संचालन खर्च घट्ने र डिजिटल काराबोरको संख्या बढ्ने भएकाले त्यसबाट मुलुककै डिजिटल अर्थतन्त्र वृद्धिमा सघाउ पुग्ने एनसीएचएलका सीईओ नीलेशमानसिंह प्रधानले बताए ।

साना तथा ठूला च्यालनहरु विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भइसकेका छन् । तर बैंक तथा वित्तीय संस्थाका मध्यमस्तरका व्यावसायिक ग्राहकले भने अझै बिल भुक्तानीका लागि समेत चेक काट्नु पर्ने समस्या रहेको छ ।

त्यसको समाधानकै लागि कर्पोरेट पे ल्याइएको प्रधानको भनाई छ । कुनै एक बैंकमार्फत् कर्पोरेट पेमा आवद्ध भइसकेपछि ग्राहकको आग्रहमा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाता एउटै च्यालनमा लिंक गराउन सकिन्छ ।

राष्ट्र बैंक र बैंक तथा तथा वित्तीय संस्थाहरुले हाल उपलब्ध गराइरहेका अन्य विद्युतीय सेवाजस्तै कर्पोरेट पेमा समेत थप शुल्क नलाग्ने बताइएको छ । कारोबार शुल्कसमेत एनसीएचएल आईपीएस र कनेट आईपीएसको विद्यमान शुल्क प्रणाली अनुसार नै निर्धारण गरिएको सीईओ प्रधानले जानकारी दिए ।

जसअनुसार आवद्ध बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले रकम ट्रान्सफर, कर्मचारीको तलब भुक्तानी, कर तथा राजस्व भुक्तानी लगायतका ठूला भुक्तानीसमेत विद्युतीय माध्यमबाटै गर्न सकिनेछ ।

यसमा आवद्ध भएपछि एक करोडदेखि २० करोड रुपैयाँसम्मको अनलाइन कारोबार गर्न सकिनेछ । तर यसका लागि ग्राहकको आग्रहमा सम्बन्धित बैंकले आवश्यक निर्णय लिनेछ ।

अनलाइन कारोबारका दौरान कनेक्ट आईपीएस वा आईपीएस मध्ये एउटा च्यानल रोज्नुपर्ने हुन्छ । कनेक्ट आईपीएसमा रियल टाइम अर्थात तत्कालै कारोबार सम्पन्न हुने भएकाले यसको कारोबारको सीमा अन्य ग्राहकहरुलाई उपलब्ध भए अनुसारकै हुनेछ ।

तर आईपीएसमा भने नन रियल टाइम अर्थात कारोबार सम्पन्न हुने केही समय लाग्ने भएकाले यसमा भने एक पटकमा एक करोडसम्म तथा मासिक २० करोड रुपैयाँसम्मको अनलाइन कारोबार गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई कर्पोरेट प्रणालीमा आवद्ध गराएर व्यावसायिक ग्राहकलाई समेट्न एनसीएचएलले थप पहल गर्नेछ ।

साथै कर्पोरेट पेलाई थप विस्तार गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरिने एनसीएचएलले जनाएको छ । कर्पोरेट प्रणालीको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकलाई चेक लिएर बैंकमा जानु पर्ने बाध्यता हट्नुका साथै डिजिटल भुक्तानीको प्रयोग समेत उल्लेख मात्रामा बढ्ने अपेक्षा राखिएको छ ।

प्रकाशित : ३ माघ २०७७, शनिबार १३:४७