दश जना नयाँ कोरोना संक्रमित भेटिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

दश जना नयाँ कोरोना संक्रमित भेटिए



मोरङ । मोरङमा कोरोना भाइरसका १० जना नयाँ संक्रमित भेटिएका छन् । दुई महिनासम्म संक्रमणविहीन बने पनि चैत ५ गतेयता भने नयाँ संक्रमित भेटिन थालेका हुन् ।

नयाँ भेटिएका संक्रमितमा छ जना विराटनगर महानगरपालिका, दुई जना सुन्दरहरैँचा र एक जना पथरीशनिश्चरे नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार चार दिनको अवधिमा १० जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगरमा संक्रमण पुष्टि भएकामा चार पुरुष र दुई महिला रहेको मेहताले बताए ।निक्कै लामो समयपछि प्रदेश १ मा चैत ५ गते आठ जनामा संक्रमण देखिएको थियो ।

जसमा तीन जना विराटनगरका थिए । चैत ६ गते विराटनगरमा एक जनामा संक्रमण देखिँदा प्रदेशमा छ जनालाई कोरोना पुष्टि भयो । चैत ८ गते विराटनगरका एकसहित प्रदेशका दुई जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आयो ।

मोरङसहित प्रदेशमा पुनः कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंका गरिएको छ । कोरोना महामारी नियन्त्रणपछि सामान्य अवस्थामा फर्किए पनि पुनः नयाँ संक्रमित भेटिन थालेपछि प्रदेशमा त्रास बढेको छ । स्थानीय प्रशासनले कोरोना फैलन नदिन उच्च सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

केही दिनयता भारतमा कोरोना संक्रमण दर उच्च छ । प्रदेश १ मा नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएको पाइएपछि नयाँ भेरियन्टको आशंका गरिएको हो । संक्रमण नियन्त्रणमा आएपछि विराटनगर महानगरपालिकाले पीसीआर परीक्षण र स्वाब संकलन केन्द्र बन्द गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाका नयाँ बिरामी भेटिन थालेपछि भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्ने विराटनगरको रानी नाकामा कडाई गरिएको बताए । भारतबाट नेपाल प्रवेश गर्नेमा कोरोना भए÷नभएको यकिन गर्न एण्टीजेन परीक्षण गर्न थालिएको जानकारी उनले दिए ।

नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ भारतसँगै जोडिएको छ । निरौलाका अनुसार नयाँ संक्रमण भारतमा दोस्रो फेजमा फैलिएको नयाँ भेरियन्टको भाइरस भएको हुनसक्ने आशंका गरिएको छ । तर नयाँ भेरियन्ट हो या हैन भन्ने यकिन गर्न परीक्षण गरेर यकिन गर्ने काम भने भएको छैन ।

नयाँ संक्रमितको ‘कन्ट्याकट ट्रेसिङ’ पनि पीसीआर कलेक्सन बन्द गरिसकेको महानगरले गर्न सकिरहेको छैन । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले अब तत्कालै संक्रमितको ‘कन्ट्याकक्ट ट्रेसिङ’ सुरु गरिने जानकारी दिए ।

कोरोना नियन्त्रणमा आएपछि सर्वसाधारण सामान्य दैनिकीमा फर्किए पनि ढुक्क हुनसक्ने अवस्था नरहेको बताउँदै कार्कीको संक्रमणबाट बच्च उच्च सावधानी आवश्यक रहेको जनाए ।पुर्वेलीन्यूजबाट साभार

प्रकाशित : १० चैत्र २०७७, मंगलवार १५:४९