लोक सेवा आयोग पदाधिकारीविहीन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लोक सेवा आयोग पदाधिकारीविहीन



काठमाडौं ।लोक सेवा आयोग आजबाट पदाधिकारीविहीन भएको छ ।

अध्यक्षसहित पाँच जना पदाधिकारीेको कार्यकाल मंगलबारदेखि सकिएपछि आयोगले गर्दै आएका नियमित काम प्रभावित हुने भएका छन् ।

आयोगको संलग्नतामा गरिने कर्मचारी भर्ना, बढुवा लगायतका काम ठप्प हुने भएको छ । आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको पदावधि सकिएको हो ।

सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो । यसअघि सात जनाको आयोग थियो ।

नयाँ संविधानअनुसार अब पाँच जना मात्रे पदाधिकारी हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को सिफारिसमा सरकारले आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको भावनाविपरीत भएको भन्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले विरोध गर्दै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका विभिन्न संवैधानिक आयोगमा सोही परिषद्को सिफारिसमा सरकारले ३३ जना पदाधिकारी तथा सदस्यको नियुक्ति गरिसकेको छ ।

आयोगका अध्यक्ष मैनालीका अनुसार अहिले आयोगको संलग्नतामा निजामती कर्मचारी, सेना, प्रहरी, संस्थानलगायत १ सय १९ संगठित संघसंस्थामा कानुनी परामर्श उपलब्ध गराई पदपूर्ति प्रक्रिया व्यवस्थित गरिँदै आएको छ ।

आयोगका पदाधिकारी तत्काल नियुक्त नभएमा बढुवाको मुखमा पुगेका कतिपय कर्मचारीलाई मुश्किल हुने भएको छ ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार १४:३५