कर्णालीमा सम्भावना खोज्दै ‘गरिखाने अभियान’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कर्णालीमा सम्भावना खोज्दै ‘गरिखाने अभियान’



काठमाडौँ । नेपाली कांग्रेस; लगानी, पूर्वाधार तथा रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समितिले कर्णाली प्रदेशसँग भर्चुअल अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको पार्टी संयन्त्रभित्र केन्द्रित रहेर गरिएको उक्त भर्चुअल अन्तक्र्रियामा समितिले अघि बढाएको गरिखाने अभियान, यसका उपलब्धि तथा राष्ट्रव्यापी उद्यमशीलता विकास अभियानको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने विषयमा छलफल भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले देशमै उद्यमशीलता विकास गरेर देशका युवा शक्तिलाई रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने भन्दै कर्णालीमा उद्यमशीलता विकासका लागि अन्य प्रदेशको भन्दा फरक विधि र व्यवहार अबलम्बन गर्नुपर्ने बताउनुभयो ।

उहाँले कर्णालीमा जडिबुटी, उच्च मूल्यका फलफूल तथा अग्र्यानिक उत्पादनको सम्भावना रहेको चर्चा गर्दै कर्णालीमा अपार पर्यटकीय सम्भावना रहेको बताउनुभयो । ‘स्वदेशी पर्यटक रारा पु¥याएर मात्र यहाँको पर्यटकीय सम्भावनाको विकास हुँदैन, विदेशी पर्यटक पनि ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधारको न्यूनता र भौगोलिक जटिलता कारण कर्णालीले विकासको समानुपातिक लाभ हासिल गर्न नपाएको उहाँको भनाइ थियो । ‘कर्णाली प्रदेशमा सरकारले ठूला विकासका आयोजना सञ्चालन, श्रमशक्तिको सीप विकास, उद्यमशील सोचको विकास र उद्यम सञ्चालनमा प्रारम्भिक चरणको साथले उक्त उद्यम व्यवसायको स्थायित्व भई कर्णालीको आर्थिक–सामाजिक विकासमा रूपान्तरण ल्याउनेछ,’ शाहीले भन्नुभयो, ‘यही क्रममा गरिखाने अभियान उद्यमशीलता विकासको एउटा कोशेढुंगा हुनसक्छ ।’


कार्यक्रममा सभापतित्व गर्नुभएका समितिका संयोजक एवं संघीय संसदका सदस्य विनोद चौधरीले कर्णाली भौतिक कनेक्टिभिटीका हिसाबले पछि परेको भएपनि राष्ट्रिय विकासको मूलप्रवाहीकरणमा समावेश गर्न यहाँका अपार सम्भावनाहरूको परिचालन गर्नुपर्नेमा बताउनुभयो । स्थानीय सम्भावनाहरूलाई उजागर गरी स्थानीयलाई उद्यमी बनाउने र रोजगारी सिर्जना गर्ने गरिखाने अभियान राष्ट्रव्यापी अभियानको रूपमा अघि बढाइएको भन्दै उहाँले गरिखाने अभियानमा आवद्ध आकंक्षीहरूलाई उद्यमी बनाउन साझेदार संस्था कर्मभूमि समाजले सीप, पुँजी, प्रविधि तथा बजारसँगको पहुँच स्थापित गर्नेगरी इकोसिस्टम विकासमा काम गरिरहेको बताउनुभयो ।


२०७७ जेठ ४ मा समिति स्थापना भएपछि उद्यमशीलता विकासका लागि इकोसिस्टम निर्माण गर्ने संयन्त्र तयार गरी प्रदेश १ र २ तथा बागमती र गण्डकी प्रदेश मा ८०० भन्दा बढी परियोजनाले कर्जा सुविधा प्राप्त गर्न आवेदन दिएकोमा १०० ओटाले बैंकबाट सहुलियत कर्जा प्राप्त गर्ने क्रममा रहेको बताउनुभयो । जिल्ला–जिल्लामा उद्योग, व्यवसाय गर्ने आकांक्षीहरूको पहिचान, परियोजना निर्माणदेखि उद्यमशीलताको सम्पूर्ण चक्रमा ह्याण्डहोल्डिङ गर्न समितिका साझेदार संस्थाहरूले काम गरिरहेको उहाँको भनाइ थियो । चौधरीले आफू शे–फोक्सुण्डो ट्रेकिङ्गमा जाँदा डोल्पो क्षेत्रका स–साना चिया पसललाई स्तरोन्नति गरी लजको रूपमा विकास गर्न सीजी फाउण्डेसनले सहयोग गरेको र त्यी पर्यटकीय सुविधाको रूपमा विकास भएको चर्चा गर्नुभएको थियो ।


गरिखाने अभियानले अर्को चरणमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट परियोजनाका लागि आवेदन लिइ सहजीकरण प्रक्रिया अघि बढाउन लागेको छ । यसका लागि कर्मभूमि समाजको वेवसाइटमार्फत् अनलाइन आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता राजीवबिक्रम शाहले कर्णाली प्रदेश हरेक आर्थिक, राजनीतिक लगायत हरेक पहुँचका हिसाबले कर्णाली पछाडि परेको हुँदा उद्यमशीलता विकासका कार्यक्रममा कर्णालीलाई फरक व्यवहार गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा समितिका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले गरिखाने अभियानको महत्व र यसले सिर्जना गर्ने रूपान्तरणका बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तै, गरिखाने अभियानका सीईओ योगराज शर्मा कँडेलले गरिखाने अभियान र कर्मभूमि समाजबाट हालसम्म भएका उपलब्धिबारे जानकारीमूलक प्रस्तुती दिनुभएको थियो ।


कार्यक्रममा समितिका सहसंयोजकहरू इन्द्र बानियाँ र उमेश श्रेष्ठले गरिखाने अभियानले मुलुकमा उद्यमशीलता विकास गरी उत्पादन र रोजगारीका क्षेत्रमा ठूलो रूपान्तरण ल्याउने भन्दै यसलाई नेपाली कांग्रेसका हरेक संयन्त्रले राष्ट्रिय एजेण्डा निर्माण गरी देशव्यापी रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।


कार्यक्रममा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरू, क्षेत्रीय र जिल्ला सभापतिहरूले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका लागि शुभकामना सन्देश पठाउँदै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले ख्यातिप्राप्त उद्योगपति विनोद चौधरीको नेतृत्वमा सञ्चालन भएको गरिखाने अभियानको पूर्ण सफलताको सदिच्छा राख्नुभएको थियो ।

आकस्मिक रूपमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उपस्थित हुनुपर्ने भएपछि आफ्नो अनुपस्थितिमा उहाँले कर्णाली प्रदेशका बेरोजगार युवाहरुले गरिखाने कार्यक्रममा सहभागी भई त्यसबाट उक्त ठाउँको आर्थिक–सामाजिक विकासमा भूमिका निर्वाह गर्न सकून् भनी शुभकामना सन्देश पठाउनुभएको थियो ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार ०९:४८