अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम



लन्डन। अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् ।

विजेता बलले एक हजार डलर, द्वितिय भएका गिरीले पाँच सय डलर र तेस्रो स्थान हात पारेकी खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा अंग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।

कार्यक्रमका विजेता सबैलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुशरण एवं प्रवर्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले एनआरएनए र अनेसास लगायतका संस्थाले अग्रणी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले हरसम्भव सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी पूर्व कुलपति एवं मूल्यांकन समितिका प्रमुख बैरागी काँइला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त , एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रस्टीका सभापति गीता खत्रीको उपस्थिति रहेको थियो । यस्तै वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा. बिन्दु शर्माले आ -आफ्ना रचना वाचन एवं शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा अतिथी कविहरू रबिन शर्मा (जापान), हिमान्शु निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खडका (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल) , गोवर्ध्दन पूजा (अमेरिका) र प्रविणा बराल (जापान) ले पनि आ -आफ्ना कविता वाचन गरेका थिए । आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवम् भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा मूल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्येबाट पुरस्कृत नामको घोषणा गर्नु भएको थियो ।

६० जना प्रतियोगी मध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खराल, समृद्धि नेपाल, सरला बाराकोटी, सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता वाचन गरेका थिए ।

एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले गर्नु भएको थियो ।

प्रकाशित : १९ बैशाख २०७८, आईतवार ०९:३०