मध्य भोटेकोशी आइपिओ मङ्गलवार देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

मध्य भोटेकोशी आइपिओ मङ्गलवार देखि



काठमाडाैँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले भोलि (वैशाख २१ गते, मङ्गलवार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्दै छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्रतिसेयर १०० अङ्कित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि छुटाइएको छ भने बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई छुटाइएको छ ।

 
कम्पनीले बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

पहिलो चरणको उक्त आइपीओमा लगानीकर्ताहरूले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्। 

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। 

लगानीकर्ताहरूले यस आइपीओमा ग्लोबल आइएमई बैङ्क, लक्ष्मी बैङ्क, मेगा बैङ्क, नेपाल क्रेडिट एण्ड कमर्श बैङ्क, सिन्धु विकास बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, सिभिल बैङ्क, प्रभु बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, कुमारी बैङ्क, बैङ्क अफ काठमान्डु र एनआईसी एसिया बैङ्कका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित : २० बैशाख २०७८, सोमबार १९:४३