एफएनसीसीआईको कोभिड परामर्श सेवा, भाईबरबाटै संक्रमितले डाक्टरसँग सल्लाह लिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

एफएनसीसीआईको कोभिड परामर्श सेवा, भाईबरबाटै संक्रमितले डाक्टरसँग सल्लाह लिन सकिने



काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले घरबाटै डाक्टरलाई फोन गरेर कोभिड-१९ रोगबाट सुरक्षित हुने बारे जानकारी दिने सेवा सुरु गरेको छ ।


निजी क्षेत्रको छाता सङ्गठन एफएनसीसीआईले एफएनसीसीआई अपरेसन कोभिड रिलिज नेपाल अभियानअन्तर्गत आजदेखि हेल्लो डाक्टर एफएनसीसीआई सेवा सुरु गरेको हो ।


सो सेवा लिनका लागि कोभिड सङ्क्रमितहरू जो घरमै आइसोलेसनमा बसेका छन् उनीहरूले सिधै चिकित्सकको सल्लाह लिन पाउनेछन् ।  कोभिड सङ्क्रमण भएका व्यक्तिहरूले भाइवरमार्फत डाक्टर अन कल सेवा लिन सक्नेछन् ।

यसको लागि भाइवरमा २११११२११११ मा म्यासेज पठाई र भाइवरमार्फत भिडियो कल गरी स्वास्थ्य परामर्श लिन सक्नेछन् । यो सेवा देशभर निःशुल्क उपलब्ध गराइएको एफएनसीसीआईले जनाएको छ ।


प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने र त्यसका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टाइएको छ ।


एफएनसीसीआईका अनुसार नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइवर नम्बर मा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसङको परामर्शको समय बिरामीलाई पठाइने छ ।

तत्पश्चात् डाक्टरहरूले भिडियो कल मार्फत बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् ।
म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै सङ्क्रमितहरूले यो सेवा लिन सक्ने छन् ।


रोग सङ्क्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसङ प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरूप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड सङ्क्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ ।


हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसङ परामर्श गर्न पाइने हुँदा कोभिड सङ्क्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने दाबी महासङ्घका अध्यक्ष शेखर गोल्छाको छ ।

महासङ्घले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन् । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासङ्घले अग्र भागमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष गोल्छाले जनाए ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार १५:४५