नेप्से पहिलोपटक १७ सय माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से पहिलोपटक १७ सय माथि



काठमाडाै । राष्ट्रबैंकले तोकेको पूँजी वृद्धिको चटारोका कारण हकप्रद र बोनस सेयर घोषणाको लहर सुरु भएपछि राम्रो कमाई हुने आशमा लगानीकर्ताहरु बैंकमा झुम्मिएका छन् । लगानीकर्ताहरुले बैंकलाई सुरक्षित लगानीको क्षेत्र मानेका कारण साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचकले १७ सय अंक पार गरी नयाँ रेकर्ड बनाएको छ । बैंकतर्फ लगानीकर्ता केन्द्रीत भएपछि बिमाको सूचक सोमबार पनि दोहोरो अंकले ओर्लिएको छ । समग्र बजार परिसूचक(नेप्से) ३६.६ अंकले उक्लिएर १७२१.७७ अंकमा पुगेको छ । नेप्से हालसम्म यो उचाईमा पुगेको थिएन ।

stock

सोमबार वाणिज्य बैंकहरुले बजारलाई लिड गरेका छन् । यो समूहको सूचक ६१.०७ अंकले बढेर समूह सूचक १५९२.०९ को उचाईमा पुगेको छ । यसैगरी, विकास बैंक समूहको सूचक पनि २१.२७ अंकले उक्लिएको छ । जलविद्युत समूह १५.८, बित्त समूह १२.६७, उत्पादनमूलक ४.३७ र अन्य समूह १.१७ अंकले उक्लिएको छ । बिमा समूहको सूचक चाहि ९५.५७ अंकले ओरालो लागेको छ । होटल समूहको सूचक पनि २६.१९ अंकले घटेको छ ।  क वर्गमा पर्ने वाणिज्य बैंकहरुको दबदबा कायम भएका कारण सोमबार सेन्सेटिभ र फ्लोट इण्डेक्स पनि क्रमशः ८.६ र २.६७ अंकले उक्लिएको छ ।

सोमबार १ सय ३२ कम्पनीको ४९ लाख २५ हजार कित्ता सेयर १ अर्ब ६३ करोड ९० लाख रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी एभरेष्ट बैंक लिमीटेडको ९ करोड ९५ लाख बराबरको सेयर कारोबार भयो । यसैगरी, एसबीआई बैंकको ८ करोड ६४ लाख, नेपाल बंगलादेश बैंक लिमीटेडको ७ करोड ४ लाख, नबील बैंकको ६ करोड ४२ लाख र एनएमबी बैंकको ५ करोड ८४ लाख बराबरको सेयर किनबेच भयो । यी बैंकमध्ये अधिकांशले हकप्रद जारी गर्ने तयारी गरिरहेका छन् । यसैको लोभमा र ठूला बैंकले आर्थिक वर्षको अन्तमा राम्रो बोनस दिने लोभमा समेत लगानीकर्ता यी कम्पनीहरुको सेयर खरीदमा झुम्मिएका हुन् । सोमबार सबैभन्दा धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा ९ वटा स्थान वाणिज्य बैंकले कब्जा गरे भने बिमा समूह १ स्थानमा सीमित हुन पुग्यो ।

प्रकाशित : १३ असार २०७३, सोमबार १२:२३