ओली –महन्थ मिलनका सूत्रधार समीम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ओली –महन्थ मिलनका सूत्रधार समीम



काठमाडौं । संविधान निर्माणको चरणदेखि आजसम्मलाई हेर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र मधेसकेन्द्रित दलका नेताहरुको सम्बन्ध मित्रतापूर्णभन्दा पनि तित्ततापूर्ण बढी देखियो । संविधान निर्माणमा कमभन्दा कम प्रदेश निर्माण गर्नेदेखि एक मधेस एक प्रदेशको मागलाई धक नमानी रोक्ने एकमात्रै नेता ओली हुनुहुन्थ्यो ।


संविधान निर्माणमा देखिएको तित्तता र त्यसबेला ओलीले प्रवाह गरेका बोली, व्यवहार र विचारको आलोचना र समर्थन दुवै हुने गरेको छ । तर, ओलीकै नेतृत्वमा पृथकतावादी आन्दोलन गरिरहेको सीके राउत समूह मूलधारमा आएको छ । संविधान निर्माणमा शीतयुद्धकै तहमा व्यवहार हुने राजेन्द्र महतोलाई संसदमा ल्याउन ओलीकै भूमिका देखियो ।


सार्वजनिक र राजनीतिक तहमा विवाद रहे पनि प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको सम्बन्धमा भने खासै बदलाव ल्याउनुभएन । ओली निकट स्रोत भन्छ– ‘महन्थसँगको व्यक्तिगत सम्बन्ध सदा सुमधुरमात्र रहेन, उहाँका प्रस्तावहरु ओलीले अस्वीकार गर्नुभएन ।’


व्यक्तिगत तहमा सम्बन्ध सुमधुर रहे पनि राजनीतिक तहमा मिलन हुन सकेको थिएन । तर, समयक्रममा ओली–महन्थ सहकार्यको रोडम्याप तयार भएको छ । ओली–महन्थ–राजेन्द्रको सहकार्यका सम्भावित परिदृश्यहरु देखिन थालेका छन् ।


महन्थलाई ओलीसँग नजिक्याउन भूमिका खेल्ने पात्रहरु भने दृश्यमा छैनन् । महेश बस्नेतको नेतृत्वमा जसपाका नेताहरुको व्यवस्थापनदेखि गोकुल बास्कोटाहरुको संयोजनका विषयहरु सार्वजनिक नै छन् । तर, राजनीतिक मुद्दाहरुको व्यवस्थापनसहित ओलीसँग महन्थलाई नजिक पु¥याउन मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको भूमिका दृश्य बाहिर छ ।

सुत्रहरुका अनुसार अन्सारीले धेरैपटक आफ्नै गाडीमा राखेर महन्थलाई लोकन्थलीदेखि बालुवाटार ओसार पसार गर्नुभएको छ । राति अबेरसम्म प्रधानमन्त्रीसँग कुरा गराउनेमात्रै होइन, उज्यालो नहुँदै बालुवाटारको गेटभित्र छिराउने काम समीमको नेतृत्वमा भएको छ ।


भारतीय संस्थापनसँग पनि राम्रो सम्बन्ध बनाउनुभएका अन्सारीले महन्थ–राजेन्द्रलाई प्रधानमन्त्रीसँग अडाउन सबै खालका राजनीतिक व्यवस्थापन गर्नुभएको देखिएको छ । ‘स्वभाविकरुपमा महन्थहरु कांग्रेससँग नजिकिनुपर्ने हो,’ जसपामा सहमति निर्माणमा खटिएका महन्थ निकट एक नेताको भनाइ छ, ‘यसपटक ओलीसँग अडाएर राख्न कठीन थियो ।’


अन्सारीको पृष्ठभूमि पनि महन्थसँग जोडिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठनदेखि नै अन्सारी सहमहामन्त्री भएर काम गर्नुभएको थियो । संविधान निर्माणताकाको मधेस आन्दोलनमा मुस्लिम गठबन्धनको नेतृत्व अन्सारीले नै गर्नुभएको थियो ।


सुशील कोइराला सरकारमा सत्ता सहकार्य गरेको तत्कालिन एमाले अध्यक्ष ओलीलाई ज्ञापन पत्र बुझाउन जाँदादेखि जोडिएको सम्बन्ध यति घनिष्ठ रह्यो कि पार्टीका वरिष्ठ मुस्लिम नेताहरुलाई पन्छाउँदै ओलीले अन्सारीलाई आयोगको अध्यक्ष बनाइदिनुभयो ।


एमालेमा प्रवेशदेखि नै ओलीको विश्वासमा काम गर्नुभएका अन्सारीले महन्थलाई मनाउन मुस्लिम आयोगमा पटक–पटक वार्ता गर्नुभएको छ । अन्सारीले भने आफूले राजनीतिक दायित्वमात्रै पूरा गरेको संक्षिप्त प्रतिक्रिया दिनुभयो । ‘म संवैधानिक निकायमा छु, तर मैले यो बिर्सन मिल्दैन कि यहाँ आएको पनि राजनीतिक स्थिरता, मधेस र मुस्लिमका मागहरुलाई पूरा गर्नका लागि पनि त हो,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सहयोग गर्नु मेरो दायित्व हो ।’

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार १०:२४