सार्वजनिक संस्थानको नाफा १ खर्ब ९ अर्ब ७४ करोड ९० लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सार्वजनिक संस्थानको नाफा १ खर्ब ९ अर्ब ७४ करोड ९० लाख



सार्वजनिक संस्थानहरुको आर्थिक वर्ष २०७६ । ७७मा सञ्‍चित नाफा गत आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब ७४ करोड ९० लाख पुगेको छ। सञ्‍चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ०.९३ प्रतिशतले कमी आई ३४ अर्ब २३ करोड ६१ लाख कायम भएको शुक्रबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

आर्थिक वर्ष २०७६/७७ मा अस्तित्वमा रहेकामध्ये २४ संस्थान नाफा आर्जन गर्न सफल भएका छन्, २लसंस्थानको कारोबार शून्य रहेको १८ संस्थानले घाटा ब्यहोरेका छन्। जनकपुर चुरोट कारखाना लि. बन्द छ भने विद्युत उत्पादन कम्पनी लि. र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा छ। नोक्सानीमा सञ्‍चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाईट प्रा. लि., बुटवल धागो कारखाना लि. को व्यावसायिक कारोबार नभएको, नेपाल रेल्वे कम्पनी लि. को व्यवसाय सञ्‍चालनको प्रक्रियामा रहेको तर यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी ब्यहोरिरहेका छन्। आर्थिक वर्ष २०७६/७७ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानीमा सञ्चालित १८ संस्थानको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा १२.६८ प्रतिशतले वृद्धि भएको छ।


आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीकोष/नेटवर्थ गत आर्थिक वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि भई रु. सात खर्ब ३ अर्ब ९0 करोड ३४ लाख भएको छ। समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ११.८२ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख पुगेको छ। गत आर्थिक वर्ष मूलत: विद्युत उत्पादन र प्रसारण लाईन निर्माण, विमानस्थल निर्माण, खानेपानी र वित्तीय क्षेत्रका केही संस्थानमा थप लगानी गरिएकोले कुल लगानी बढ्‍न गएको हो। गत आर्थिक वर्षको तुलनामा शेयर लगानी ६.१७ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ८८ अर्ब ६५ करोड८५ लाख पुगेको छ भने ऋण लगानी १९.७९ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ३० अर्ब८९ करोड ५१ लाख पुगेको छ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार १९:५३