आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो



काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक सातादेखि गरिएको कडाइ खुकुलो गर्ने निर्णय गरेको हो ।

आजदेखि लागू भएको नयाँ आदेश अनुसार मर्निङवाक र इभिनिङ वाक गर्न खुल्ला गरिएको छ । शैक्षिक संस्थाहरु बन्द नै रहने भए पनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको हो ।

कूटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न पाउने भएका छन् । अत्यावश्यक उद्योग तथा निर्माण कार्यका लागि कार्यस्थलमै श्रमिक राखेर सञ्चालन गर्न पाउने भएका छन् । स्वास्थ्य सामग्री, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री ढुवानी गर्न पाउने भएका छन् ।

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासलगायतका सवारी राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन हुने भएका छन् । तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी मर्मतका वर्कशप तोकिएको समयमा सञ्चालन हुने भएका छन् ।

निर्माण सामग्री ढुवानीका सवारी राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने भएका छन् । सार्वजनिक सवारी साधनहरू भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार ०८:१८